भारोत्तोलन प्रतियोगिता आजदेखि, महिला र पुरुषगरी ३०७ खेलाडी प्रतिस्पर्धा गर्दै

Advertisement

काठमाडौंः नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुने भएको छ ।

संघका अध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलकुद इतिहासमा सो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगिता भएको बताए । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा एसियाका ३३ राष्ट्रका खेलाडीको सहभागिता हुनेछ ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ युथमा ९४ र जुनियरमा १०३ गरी १९७ तथा महिलातर्फ ५२ युथ तथा ५८ जुनियर गरी ११० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कूल ३०७ खेलाडीले ३२ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा पुरुष युथतर्फ ५०, ५६, ६२, ६९, ७७, ८५, ९४ र ९४ केजी प्लस तौल समूह तथा पुरुष जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिला युथतर्फ ४४, ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि तौल समूहमा तथा महिला जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजीमाथि केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट चार महिला र नौ पुरुष खेलाडीले भाग लिने प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिए । खेल यही साउन १४ गतेसम्म चल्ने छ ।

Advertisement

Advertisement

Advertisement