सार्वजनिक संस्थानहरुको दुर्गतीको नमुनाः बन्द उद्योगमा बषौंदेखि हाजिर गर्दै तलव खाँदै

Advertisement

काठमाडौंः नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ ।

पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ । सो उद्योगका महाप्रबन्धक दिनेश बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् । धेरै कर्मचारी त हाजिर गरेर अरु ठाउँमा काम गर्छन् । उद्योगमा ८० प्रतिशत कर्मचारी स्थानीयवासी नै छन् ।

“उद्योग अहिले पनि रु डेढ अर्ब घाटामा छ,” उनले भने । चीन सरकारको सहयोगमा निर्माण सो उद्योग तत्काल सञ्चालनका लागि रु ८२ करोड लाग्छ । तर लगानी गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान गएको देखिँदैन । बाबुराम भट्टराई नेतृत्वको सरकारले केही रकम दिएर यस उद्योग पुनः सञ्चालनको प्रयास गरे पनि सफल हुन सकेन ।

उद्योगका महाप्रबन्धक बर्तौलाका अनुसार उद्योगमा रहेका मेसिन निकै पुराना छन् । ती मेसिनले गुणस्तरीय उत्पादन दिन नसक्ने अवस्था छ । नयाँ प्रविधिका मेसिन किन्नका लागि रु एक अर्ब ६० करोड आवश्यक पर्छ । “सरकारले लगानी गरेर चलाउने विषयमा अर्थमन्त्रालयले पैसा नहाल्ने भएको छ, कुनै लगानी गर्ने कम्पनीको खोजीमा छ तर भरपर्दो कम्पनी भेटिएको छैन”, उनले भने ।

बन्द हुनुअघि सो उद्योग महिनामा पाँच/छ दिनमात्र सञ्चालनमा आउँथ्यो । आवश्यक सामग्रीको ढुवानी महँगो भएका कारण उद्योग सञ्चालनमा कठिनाइ थियो । सो उद्योगको ५६६ रोपनी जग्गा छ । त्यसको पनि सदुपयोग हुन सकेको छैन ।

एउटा टायरको तौल ६२ किलो हुन्छ । निर्माणका लागि ७० थरिका कच्चा पदार्थ चाहिन्छ । त्यसमा प्रयोग हुने खोटोबाहेक सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपसमितिको सोमबारको बैठकमा उद्योग बन्द हुनुको कारणबारे सांसदले उद्योगका महप्रबन्धक बर्तौलालाई प्रश्न गरेका थिए ।

सांसदले बर्तौलालाई सरकारको लगानीमा सञ्चालन भएको उद्योग दुई वर्षदेखि बन्द हुनु र सञ्चालनमा आउन नसक्नुको कारण सोधेका थिए । नेपालको टायर उद्योग बन्द हुँदा धेरै नागरिक बेरोजगार भएको र समग्रमा मुलुकलाई घाटा लागेको सांसद राज्यलक्ष्मी श्रेष्ठको ठहर छ ।

सांसदहरु अनारकली मिया, आदित्यनारायण कसौधनको प्रश्न छ, “दुईवर्षदेखि उद्योग बन्द छ, किन कर्मचारीलाई बिदा नगरेको ?” राज्यबाट सञ्चालन भएका उद्योग किन धरासयी भएर बन्द भएको, यसको खोजी हुनुपर्छ ।”

सरकारले सञ्चालन गरेको उद्योग टाट पल्टने तर निजी क्षेत्रले लगानी गरेको उद्योग नाफामा जाने अवस्था मुलुकका लागि दुःखदायी भएको उनको भनाई छ । कर्मचारीलाई बिदा गर्नुपर्ने, सरकारले लगानी गरेर वा कुनै लगानीकर्ता खोजेर उद्योग सञ्चालन गर्नुपर्ने विषयमा पनि सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।

उपसमितिका संयोजक नारायण कार्कीले भने, “उद्योग चल्दैन भने किन कर्मचारी राखिरहेको, सञ्चालन गर्ने विषयमा किन सरकारले नसोचेको यो गम्भीर विषय हो ।” उनले कर्मचारीलाई बिदा गरेर व्यवस्थितरुपमा उद्योग सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताए ।

नेपालका अधिकांश संस्थानहरुको अवस्था दयनीय रहेको छ । कमजोर व्यवस्थापन, भ्रष्टाचार, राजनीतिकरण, अधिक कर्मचारी र भएका कर्मचारीले पनि काम नगर्ने, काम गर्नेलाई पनि प्रोत्साहन नगर्ने जस्ता कारण राज्यको खबौंको लगानी विना प्रतिफल खेर गइरहेको छ ।

Advertisement

Advertisement

Advertisement