सोमबारबाट मौसम सुधारः मौसमविद

Advertisement

काठमाडौंः मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आइतबार पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए। उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने सुवेदीको भनाइ छ ।

तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ । गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

Advertisement

Advertisement

Advertisement