ट्राफिक महाशाखामा प्रमुखै पिच्छे नयाँ अभियान:  सर्वेन्द्रको ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु

Advertisement

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ ।

काठमाडौँ उपत्यकामा धेरै मानिस मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएको भन्दै यसलाई कम गर्न महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियानको शुरुवात गरेको हो ।

महाशाखाले बुधबार साँझ कार्यालय गएर घर फर्केका मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिएर मोटरसाइकलमा स्टीकर टाँसेर छाडेको थियो ।

यो अभियान उपत्यकाको भद्रकाली, त्रिपुरेश्वर, महाराजगञ्ज, चाबहिल, गौशाला, पाटन, जावलाखेल, नयाँबानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा सञ्चालन भएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकामा मोटरसाइकलको संख्या दिनानुदिन बढ्दै गएको र मोटरसाइकलमा सवार गर्ने यात्रु धेरै दुर्घटना पर्दै गएको भन्दै उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । “यो अभियान क्रमशः ठूला सवारीसाधनमा समेत लागू गर्दै लैजान्छौँ,”–प्रमुख खनालले भने ।

अभियानका क्रममा ट्राफिक प्रहरीले लेन अनुशासन कायम राख्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने, ओभरटेक गर्दा बाँयाबाट नगर्ने, कुनै पनि ठाउँमा जाँदा घरबाट केही समय छिटो निस्कनेलगायतका प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण दिएका मोटरसाइकललाई स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टीकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा मात्र आठ लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

 

 

Advertisement

Advertisement

Advertisement