एमाले दोश्रो हुन जानेको छैन-ओली

Advertisement

कास्की (पोखरा): प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फ्रि स्टाइलले चुनाव लड्न तयार रहेको बताएका छन् ।

नेकपा एमालेको प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले अन्य पार्टीहरू जतिसुकै गठबन्दन गरेर आए पनि एमाले एक्लै लड्न तयार रहेको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले पक्षपात पूर्ण रुपमा काम गरिरहेको आरोप लगाए। उनले एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गरेको नदेख्ने आयोगले एमालेले टोपी लगाउँदा देखेको बताए।

‘एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चिन्ह अंकित टोपी लगाउँदा २४ घण्टे अल्टिमेटम दिने,’ उनले भने—‘एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गर्दा आचारसंहिता लागेको आयोगले नदेख्ने?’

उनले एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन नसक्ने दाबी गरे। उनले प्रदेश नम्बर दुईमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन चुनौती दिए। उनले तराईमा जनताका लागि विकासको काम गरेको बताउँदै जनताले एमालेलाई जिताउने बताए।

उनले सरकारले जथाभावी रूपमा स्थानीय निकाय थप गरेको आरोप लगाए। कार्यक्रममा विभिन्न पार्टीबाट प्रवेश गरेकालाई ओलीले स्वागत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement