भारतकै 'डीपीआर' अनुसार काठमाडौँ-तराई द्रूत मार्ग: सेना

Advertisement

निजगढ (बारा): नेपाली सेनाले भारतीय कम्पनीको गुरुयोजना अनुसार नै काठमाडौं–तराई–मधेस द्रुतमार्ग (एक्प्रेस वे) निर्माण गर्ने भएको छ ।

भारतीय कम्पनी आइएलएन्डएफएसले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग निर्माणकार्य अघि बढाउन लागिएको सेनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र डीपीआर निर्माण गर्ने भारतीय कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेको सेनाले जनाएको छ ।

डीपीआर प्रयोग गरेबापत सेनाले १ अर्ब रुपैयाँभन्दा बढी रकम भारतीय कम्पनीलाई दिने छ । यसबारे सेनाले औपचारिक धारणा भने बाहिर ल्याएको छैन । उच्च स्रोतका अनुसार भारतीय कम्पनीले निर्माण ठेक्का नपाएपछि डीपीआर बनाउदाँ लागेको खर्चमा उच्च मोलमोलाई गरेको थियो ।

साथै, द्रुतमार्ग बनाउँदा लाग्ने बारुद लगायत विस्फोटक पदार्थ खरिद र प्राविधिक सहायतामा समेत भारतीय पक्षले आफ्नो प्रभुत्व रहनेगरी चासो देखाएको स्रोतले बतायो ।

“यसअघि तयार भएको डीपीआरअनुसार नै द्रुतमार्ग निर्माणकार्य अघि बढाइने तयारी छ,” द्रुतमार्ग निर्माणकार्यमा खटिएका महासेनानी विकास पोखरेलले भने, “जग्गा अधिग्रहण लगायतका धेरैजसो काम भइसकेकोले फेरी नयाँ चरणबाट सर्वेक्षण वा अध्ययनप्रतिवेदन बनाउँदा समय अपुग हुन्छ ।”

महासेनानी पोखरेलका अनुसार डीपीआरसँग जोडिएका विषयको छिनोफानो केहीदिन भित्रै लाग्ने छ । उनले ४ लेनको द्रुतमार्गभित्र ९९ वटा पुल र १.३५ किमि लम्बाइको टनेल बन्ने र पहाडमा २३ र तराई क्षेत्रमा २५ किमि चौडामा सडक निर्माण हुने बताए ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

Advertisement

Advertisement

Advertisement