'अटो शो' मा तीन अर्वको बुकिङ, करिब ६५ हजारको अवलोकन

Advertisement

काठमाडौंः सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो शो २०१७’मा यस वर्ष करिब ३ अर्ब रुपियाँ बराबरको बुकिङ भएको छ । आइतबार सम्पन्न मेलामा १ हजारवटा चारपांग्रे र १ हजार ६ सयवटा दुईपांग्रे सवारीसाधन बुकिङ भएको नाडाले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्षको अटो शो अपेक्षाकृत रूपमा उत्साहजनक नभएपनि सहभागीको चासो भने अत्यधिक रहेको छ । यसले भने उत्साह थपेको व्यवसायीहरूको भनाइ छ ।

अटो शोले सवारी व्यवसायीमा उत्साह थपे पनि अपेक्षाकृत व्यापार भने नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठको भनाइ छ । “गतवर्षको माघदेखि जुन समस्या देखिएको थियो, त्यसयताको अवस्थामा त अटो शोले उत्साह पक्कै थपेको छ,” उनले भने, “उपभोक्ताबाट सवारीसाधनबारे जुन सोधखोज भयो त्यो भने अभुतपूर्व नै रह्यो ।”

समग्रमा भने नाडा अटो शो २०१७ निकै सफल भएको श्रेष्ठले दावी गरे । तरलता अभावका कारण सवारीसाधनको कर्जामा तोकिएको सीमा र त्यसैको प्रभावमा बढेको ब्याजदरका कारण डामाडोल भएको अटो व्यवसायमा केही उत्साह भने अटो शोले थपेको व्यवसायीहरूको भनाइ छ । तीन महिनामा हुने ब्याजदरको बेसरेट परिवर्तन हुने नियमले पनि उपभोक्तामा केही अन्योल उत्पन्न भएको श्रेष्ठले बताए ।

अटो शोमा करिब ६५ हजारले अवलोकन गरेको यो वर्षको अटो शोका सहसंयोजक दिपककाजी तुलाधरको भनाइ छ । “हामीले अपेक्षा गरेअनुसार नै उपभोक्ताको उत्साहजनक सहभागितामै यो वर्षको अटो शो सकिएको छ,” उनले भने, “६५ हजारले अटो शो अवलोकन गर्दा १ हजार चारपांग्रे सवारी र १६ सय वटा मोटरसाइकल तथा स्कुटर बुकिङ भएको छ ।”

यो वर्ष बेस्ट सपोर्टिङ स्टल सरन इलेक्ट्रोनिक्सले पाएको छ भने बेस्ट कमर्सियल स्टल अशोक लेल्यान्ड छनोट भयो । त्यस्तै दुइपांग्रेको बेस्ट स्टल बजाज र चारपांग्रेमा फोर्ड भएको छ । टिकटबाट एक जनालाई दिइएको डोर प्राइज युएमको रेनिगाड कमान्डो ०२४८४० टिकट नम्बरले पाएका छन् ।

सवारीसाधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेन्टसका पनि स्टल रहेका थिए । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

 

Advertisement

Advertisement

Advertisement