नवाज शरिफलाई अदालतमा उपस्थित गराउँदा उनका सयौं समर्थकद्धारा नाराबाजी

Advertisement

इस्लामावादः पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएका छन् । भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट बर्खास्त गरिएका शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित भएको इस्लामावादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनी सोमबार बिहान सो अदालतमा उपस्थित हुँदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ ।अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित शरिफका सयौं समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी नरहेको, उनले भ्रष्टाचार नगरेको र राजनीतिक प्रतिशोधका आधारमा उनीलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए । शरिफ अदालत परिसरमा उपस्थित हुँदा पाकिस्तानका ठूलो सङ्ख्याका पत्रकार उपस्थित थिए । उनलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए ।

उनीमाथि भ्रष्टाचारको आरोपमा छानबिन सुरु भएपछि लामो समयपछि सर्वोच्च अदालतले गत जुलाई महिनामा उनलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो ।

त्यसयता पनि शरिफमाथि अदालतको अनुसन्धान जारी नै छ । उनी दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित भएका हुन । सम्भवत शरिफमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् ।

सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन ।

Advertisement

Advertisement

Advertisement