गगन थापाले भन्दैमा देउवाले राजीनामा नदिने एनपी साउदको भनाई आयो

Advertisement

काठमाडौंः काँग्रेस नेता एनपी साउदले राष्ट्रिय सभाको गठन नभईकन प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले अझै केही समय राजीनामा नदिने संकेत गरेका हुन् ।

साउदले भने, ‘निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन, त्यसैले हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’

उनले सरकारले पठाएको अध्यादेश स्विकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले किन ढिलाई गरेको हो भन्ने कुरा आफूहरुले बुझ्न नसकेको बताए । साउदले भने, ‘अध्यादेश स्विकृत गर्न किन ढिलाई भैरहेको छ, हामीलाई अचम्म लागेको छ, यदि साँच्चिकै कमीकमजोरी भएको छ भने पनि हेर्ने निकाय छ नि, अदालत छ, राष्ट्रपति सम्मानित पद हो, यस्तो कुरामा अल्झिनु हुँदैन् ।’

नेता साउदले अध्यादेश स्विकृत नहुँदा राष्ट्रपति कार्यालय जस्तो संस्था नै विवादमा तानिएको तर्क गरे । आफूहरु जनमतको सम्मान गर्ने भएकोले अल्पमतमा परिसकेकोले सरकार छोड्न आँतुर भए पनि कसलाई सरकार छोड्ने भन्दै उनले प्रश्न समेत गरे ।

‘कसलाई सरकार बुझाएर जाने ? कम्तिमा राष्ट्रियसभाको निर्वाचन त होस्, संविधानबमोजिम चल्नुपर्छ नि’– साउदले भने । सरकार हस्तान्तरण भनेको के बाटो हिँड्दाहिँड्दै चाबी ह्याण्डओभर गरेजस्तो हो त भन्दै उनले प्रश्न समेत गरे ।

युवा नेता गगन थापाले त पार्टी सभापति देउवालाई राजिनामा दिन दबाब दिएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘कांग्रेस पूरानो पार्टी हो, विधानबाट चल्ने पार्टी हो, विधान बाहिर गएर पनि केही हुँदैन, राजिनामा माग्ने विषयलाई हामीले ज्यादै महत्व दिएका छैनौं ।’ उनले राजिनामा माग गरेको विषय आफ्नो नोटिसमा समेत नभएको जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement