ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग

Advertisement

काठमाडौंः नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नियम, कानूनभन्दा बाहिर खोलिएका उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न आग्रह गरेका छन् । “वीरगञ्जमा मानिस जिउँदै जलिरहेको छ, त्यस्तो भयानक दृश्य यहाँ देख्न नपरोस् भन्ने उद्देश्यले हामीले खबरदारी गरेका हौँ,” – उनले भने ।

उनले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको इञ्जिनियरिङ कलेज, सिद्धार्थ वनस्थली इन्टिच्युटलगायतका थुप्रै विद्यालय औद्योगिक क्षेत्रको वरपर सञ्चालन छन्, त्यी विद्यार्थीको सुरक्षाका लागि आन्दोलन गर्नुपरेको बताए ।

काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकुन्द रिजालले धेरै विद्यालय र बस्ती भएको बालाजु क्षेत्रको बीचमा उद्योग सञ्चालन भएको भन्दै यसलाई तत्काल हटाउनका लागि वडावासीले पटकपटक माग गरिसकेको बताए ।

“उद्योग हटाउनका लागि वडाले पाँच महिना पहिले आपूर्ति, उद्योग र वातावरण मन्त्रालयलाई पत्राचार समेत गर्यौँ, अहिलेसम्म सुनुवाइ हुन सकेन,” – उनले भने ।

नेविसंघका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका बासिन्दा सुशील भट्टले आफूले राखेको माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने बताए । “हामी सरोकारवालासँग छलफल, ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्छौं, यदि हाम्रो माग सुनुवाइ भएन भने सडक आन्दोलनमा जान्छौँ,” – उनले भने । कार्यक्रममा स्थानीयवासी र विद्यार्थीको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement