छ महिनाअघि नै सम्पन्न हुनुपर्ने मध्यभोटेकोशीको काम बल्ल ४० प्रतिशत सम्पन्न

Advertisement

काठमाडौंः लक्ष्यअनुसार सन् २०१७ को जुन महिनामै निर्माण सम्पन्न हुनुपर्ने मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम बल्ल ४० प्रतिशत सकिएको छ ।

कुल १०२ मेगावाट क्षमताको यस आयोजना जुरे पहिरो, भूकम्प, बाढी पहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्दा र ठेकेदारले अपेक्षाअनुसार काम गर्न नगर्दा आयोजनाको काममा ढिलाई भएको जनाइएको छ । आयोजनाको काम सुरु भएको चार बर्ष बितिसकेको छ ।

संशोधित लक्ष्यअनुसार सन् २०१९ को जुनसम्म यस आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजनाले निर्माण गरिरहेको यस आयोजनाको निर्माणस्थलको उर्जासचिव अनुप उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुगमन गर्दै संशोधित लक्ष्यभित्र काम सक्न आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोलाई निर्देशन दिएका छन् ।

सचिव उपाध्यायले आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको भन्दै कामलाई तीब्रता दिन जनशक्ति बढाउनुपर्ने बताए । उनले ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएको बताएका छन् ।

मध्यभोटेकोशीको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको जनाइएको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । सात दशमलव एक किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको ठेकेदार कम्पनीहरुले जानकारी गराएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको बताए । अब दुई वर्षभित्र काम सक्नुपर्ने भन्दै उनले त्यसका लागि एकीकृत तालिका बनाएर काम गर्नुपर्ने बताए ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ ।

कुल १२ अर्ब २८ करोड अनुमानित लागत रहेको यस आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपियाँ आम्दानी गर्नेछ ।

Advertisement

Advertisement

Advertisement