प्रदेश प्रमुखमा नामै नसुनिएकाहरु हावी, काँग्रेस र मधेसी दलले मात्रै गरे भागबण्डा

Advertisement

काठमाडौंः सरकारले सातवटै प्रदेशहरुमा प्रदेश प्रमुखहरुको नियुक्ति गरेको छ । लामो कसरतपछि आजको मन्त्रिपरिषद बैठकले नियुक्ति गरेका प्रदेश प्रमुखका अधिकांश अनुहारहरु जनतामाझ अपरिचित छन् ।

अर्कोतर्फ एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेकाले यो थप विवादित हुने देखिएको छ । सात प्रदेश प्रमुखमध्ये कांग्रेसको सिफारिसमा पाँच जना र मधेसी दलको सिफारिसमा दुई जना परेका छन् ।

यसअघि काँग्रेसका नेताहरुले एमाले र माओवादीलाई समेत मान्य हुनेगरी प्रदेश प्रमुख नियुक्ति गर्ने भने पछि त्यसो हुन नसकेको विपक्षीहरुको गुनासो छ । काँग्रेसको सिफारिसमा पहिलो प्रदेश प्रमुख हुने सौभाग्य पाउनेहरुमा १ का गोविन्द सुब्बा, ३ की अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । त्यस्तै, संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश २ का रत्नेश्वरलाल कायस्थ र राष्ट्रिय जनता पार्टीको सिफारिसमा उमाकान्त झा प्रदेश प्रमुख तोकिएका छन् ।

काँग्रेसले मधेसी दलहरुलाई विश्वासमा लिन उनीहरुको सिफारिसमा समेत प्रदेश प्रमुखहरु नियुक्त गरेपछि वामगठवन्धनले यसलाई कसरी लिन्छ ? भन्ने जिज्ञासा सबैतिर बढेको छ । प्रदेश १ प्रमुख सुब्बा धनकुटाका स्थायी निवासी र अंग्रेजी विषयका प्राध्यापक हुन् । सुरुमा अखिलको राजनीति गरेका उनी पछि कांग्रेससँग निकट थिए ।

प्रदेश २ का प्रमुख कायस्थ पूर्वसचिव, योजनाका आयोगका पूर्व सदस्य र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रमुख रहिसकेका व्यक्ति हुन् । त्यस्तै, प्रदेश ३ की कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । चेलीवेटी बेचविखन विरुद्धको उनको अभियानमा लाग्दै आएको उनी प्रतिष्ठित व्यक्ति नै हुन ।

प्रदेश ४ का प्रमुख कुँवर अर्घाखाँचीका स्थायी निवासी हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । प्रदेश ५ का प्रमुख झा पूर्व सचिव र खिलाराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थिए ।

केही समय शिक्षण पेशामा रहेका प्रदेश ६ का प्रमुख खनाल यसअघि कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।प्रदेश ७ का प्रमुख मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन । उनी परराष्ट्र सहायक मन्त्री समेत बनेका थिए ।

Advertisement

Advertisement

Advertisement