देउवालाई व्याङ्ग्य गर्दै काँग्रेस नेताले जुत्ता पोलिस गरे, उद्देश्य- राजनीतिक शुद्धीकरण

Advertisement

काठमाडौंः विशेषगरी आफ्नै पार्टीभित्रको राजनीतिक शुद्धीकरणका लागि काँग्रेसका केही नेताले मंगलबार नयाँ बानेश्वरमा जुत्ता पोलिस गरे । जुत्ता पोलिस गर्नेमा काँग्रेसमा फरक धारणका युवा नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी विनोद भट्टराईलगायत थिए ।

बिहान ९ बजे नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा भुइँमा बसेर उनीहरुले भकाभक सर्वसाधारणको जुत्ता पोलिस गर्न थालेपछि हेर्नेहरुको ठूलै भीड जम्मा भएको थियो । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले राजनीतिक शुद्धीकरणका लागि भन्दै आयोजना गरेको जुत्ता पोलिस गर्ने लाइनमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल पनि थिए ।

काँग्रेसभित्र युवा नेतृत्व जरुरी रहेको भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाको क्रियाकलापको आलोचना गर्दै आएका उनीहरुमध्ये कै एक विश्वप्रकाश शर्मालाई देउवाले थुतेर प्रवक्ता बनाइसकेका छन् । काँग्रेस नेताहरुबाट जुत्ता पालिस गराउनेमा मानवअधिकारवादीदेखि कांग्रेस कार्यकर्ता, बटुवाहरु थिए । यसलाई उनीहरुले राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न आग्रह गरेका थिए ।

पछिल्लो समयमा देउवा र उनकी पत्नी आरजुका क्रियाकलापको आलोचना बढ्दै गएको बेला त्यसको विरोधस्वरुप सांकेतिकरुपमा जुत्ता पोलिस गरिएको हो । कार्यक्रममा विनोद भट्टराईले भने, किसुनजी जस्ता सन्त नेताको आचरण र सिद्धान्त पुस्तान्तरण गर्न र हाल पार्टीहरुभित्र देखिएका विकृति सुधार गर्न यो यो कार्यक्रम गरिएको हो ।’

सन्त नेता किसुनजीले आफ्नो जुत्ता आफै पोलिस गर्ने गरेको अनुभव सुनाउँदै काँग्रेस नेताहरुले मुलुकमा बढ्दै गएको राजनीतिक विकृतिको शुद्धीकरण आफैबाट सुरु गरौं भनेर जुत्ता पोलिस कार्यक्रम आयोजना गरिएको बताए ।

जुत्ता पोलिस कार्यक्रमबाट ३१ हजार संकलन भएको थियो । उठेको रकम सामाजिक कार्यका साथै किसुनजीको सिद्धान्त प्रचारमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement