प्रधानमन्त्रीको भारत भ्रमण विकास र लगानीमा केन्द्रीत रहने

Advertisement

काठमाडौं : नेकपा एमालेका नेता तथा नेपाल–भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने ‘प्रधानमन्त्रीले भारत भ्रमणको बेला थोरै विषयमा धेरै उपलब्धि हुने काम गर्नु हुनेछ । ’

भट्टराईले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा आपसी हितका विषयमा विशेष महत्वका साथ कुरा हुने विश्वास दिलाए । उनले भने, ‘वर्तमान सरकार छिमेकीसँग संवाद र सुमधुर सम्बन्ध बनाउन चाहान्छ, अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार नै नेपालले आफ्ना सम्बन्धलाई बढवा दिन्छ, यही दृष्टान्तसहित हामी नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अघि बढाउँछौँ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न अहिले आन्तरिक गृहकार्य समेत सुरु भैसकेको जानकारी दिए । कार्यक्रममा उनले भारतसँग पूर्वाधार विकास, हवाई, विद्युत, जलस्रोत, कृषिलगायतका क्षेत्रमा विशेष छलफल हुने बताए । यो विषयबारे भारतीय पक्षलाई समेत जानकारी भैसकेको छ । नेपालमा भैरहेका विभिन्न विकासमा कामहरु समयसिमाभित्रै सम्पन्न गर्न पनि छलफल गरिने छ । साथै मोदीसँगको वार्तामा भारतीय लगानी नेपाल भित्र्याउने विषयमा पनि छलफल हुने उनले बताए । उनले भने, ‘अब उचित समय आएको छ, हामीले आर्थिक समृद्धिको यात्रालाई अघि बढाउनको लागि प्राथमिकता राखेर मित्रराष्ट्रहरुसँग छलफल अघि बढाउँछौँ ।

नेता भट्टराईले चीन र भारतको आर्थिक विकासबाट नेपालले पनि केही कुरा सिक्नुपर्ने बताउँदै चीन र भारतको लगानी नेपालमा भित्र्याउन विशेष पहल गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा लगानीको विषयमा नै केन्द्रीत भएर क’रा गर्ने जानकारी दिए । उनले भने, ‘आजको दिनसम्म हेर्दा, नेपालमा भारत र चीनको बढी लगानी छ, अब पनि हामीले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा नै विशेष महत्व दिनुपर्छ ।’

श्रेष्ठले नेपालमा समृद्धिको कुरा धेरै सुनिएपनि वर्तमान सरकारको नेतृत्वमा त्यो सम्भव हुने कुरामा आफू विश्वस्त रहेको बताएका थिए । उनले भने,‘ सुशासन, आर्थिक समृद्धि, आर्थिक वृद्धिका कुरा हामीले सुन्दै आएका कुरा हुन्, वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले अवश्य पनि विकासका योजना ल्याउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’

यस्तै कार्यक्रममा पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले भारतीय सामानहरु नेपाल दुई दिनभित्रै आउन सक्ने वातावरण बनाउनुपर्ने र नेपालका सामानहरु बढीभन्दा बढी भारत निर्यात गर्नतिर जोड दिनुपर्ने बताए ।

चीन र भारत नेपालका असल मित्रराष्ट्र भएकोले नेपालले अब दुवै छिमेकी मित्रराष्ट्रसँग निर्यात बढाउनुपर्ने पनि उनले सुझाव दिए । उनले भने, ‘नेपालबाट निर्यात १ रुपैयाँको हुँदा आयात १४ रुपैयाँको छ, अब हामीले निर्यात बढाउनुपर्छ ।’

नेपालको आर्थिक वृद्धिदरको आधार नै कषि, जलस्रोत, पर्यटन भएकोले सरकारले यही अनुसार आफ्ना प्राथमिकताहरु अघि बढाउनुपर्ने । उनले प्राथमिकतामा राखिएका कार्यक्रमहरु कार्यान्वयन नभएकोले त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले कृषिमा २१ प्रतिशत जमिनमा वर्ष खेति हुने भएकोले अब यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने बताए । ‘यसले गर्दा प्रदेश नम्बर २ को समृद्धि हाँसिल गर्न मद्दत पुग्छ ।’ शर्माले ७ वटै प्रदेशमा उद्योग तथा कलकारखाना खोल्ने उद्देश्यले ७ हजार विघा जमिन तयारी अवस्थामा रहेकोले यसको लागि बाटो घाटोमा जोड दिनुपर्ने बताए ।

उनले नेपालले यो आगामी चार वर्षभित्रै नीजगढ अन्तराष्ट्रिय विमानस्थल बनाईसकेर प्लेन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै, भैरहवा र पोखराको विमानस्थल पनि पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement