चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

Advertisement

सल्लेरीः वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् ।

तीन हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ । तीन सय ८३ आरोही एसपिसिसीको कार्यालय नाम्चेमा नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।

एसपिसिसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका समूहमध्ये ३३ समूहका ३०८ सगरमाथा आरोहण दलका सदस्य छन् । यस्तै ल्होत्से हिमाल आरोहणका लागि छ समूहका ६४ र नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ११ आरोहण दलका सदस्य रहेको राईले जानकारी दिए ।

बीस आरोही महिला

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्याङ्क हेर्दा सगरमाथा आरोहणका लागि पाँच समूहका ३८ आरोहीदलका सदस्य नाम्चे पुग्न बाँकी छ । पर्यटन विभागमा आजसम्म विदेशका ३४ र नेपाली चार समूहका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार ३४ समूहका ३२६ विदेशी र चार समूहका २० नेपाली आरोहीले अनुमति लिएका छन् ।

नेपाली आरोहण दलमा २० मध्ये १५ महिला छन् । यस्तै आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ आरोही नाम्चे पुगेका छैनन् । विभाग र एसपिसिसीको तथ्याङ्कलाई तुलना गर्दा सात हजार ८१६ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि सरकारसँग अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूूहका १५ आरोही आधार शिविरतर्फ जाने क्रममा छन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तथा नेपालीले प्रतिव्यक्ति नेपाली ७५ हजार रुपियाँ सलामी दस्तुर तिर्नुपर्छ । विभागमा आरोहीले सलामी दस्तुर बुझाएर अनुमति लिनुपर्ने प्रावधान छ ।

ल्होत्से हिमाल आरोहणका लागि विदेशीले सलामी दस्तुरवापत एक हजार आठ सय अमेरिकी डलर बुझाउनुपर्छ भने नेपाली आरोहीले नेपाली १० हजार रुपियाँ र नुप्त्से आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति छ सय अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ । सोही हिमाल आरोहणका लागि नेपाली आरोहीले प्रतिव्यक्ति छ हजार रुपियाँ सलामी दस्तुर बुझाउँछन् ।

सरकारले प्रत्येक आरोहण समूहमा एक सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोही विभिन्न ट्रेकिङ कम्पनीमार्फत आरोहणमा जाने गर्छन् । आरोही र सरकारबीच सम्पर्क गराउन विभागले सम्पर्क अधिकृत खटाउने गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement