लगानीकर्ताहरुको लागि साता उत्साहजनक, नेप्से ११० अंकले उक्लियो, कारोबार ३८ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौंः यो साता सेयर बजार लगानीकर्ताहरुको लागि उल्लासमय रह्यो । लामो समयदेखि घट्दै गएको सेयर बजार परिसुचक यो सातामा मात्रै ११० दशमलव ७६ अंकले बढेर एक हजार ३८८ दशमलव ३१ अंक कायम भयो भने सेयर कारोबार गत साताभन्दा ३८ दशमलव ४६ प्रतिशतले बढेर चार अर्ब आठ करोड नाघ्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको ४४ हजार १५० कारोबारबाट ८८ लाख ५९ हजार ४१० कित्ता सेयर खरिद बिक्री भयो । समूहगत कारोबार हेर्दा यो साता सबैभन्दा बढि फाइदा बीमा समूहका लगानीकर्तालाई भएको छ । यो समूहको उपसुचक ८५२ अंकले बढेको छ भने त्यसबाहेक बाणिज्य बैंक समूह ७१ दशमलव ६७ अंकले, विकास बैंक समूह १३५ दशमलव ५२ अंकले बढेको छ ।

त्यस्तै, वित्त समूह ३७ दशमलव ८९ अंकले, लघुवित्त २२३ दशमलव ६५ अंकले, होटल २१९ दशमलव ५१ अंकले, जलविद्युत १९७ दशमलव २३ अंकले, उत्पादनमूलक समूह ९८ दशमलव ८९ अंकले, अन्य समूह ६३ दशमलव ४४ अंकले बढेको छ भने एउटा मात्रै व्यापार समूह करिव तीन अंकले बटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१ दशमलव ०५ अंकले बढेर २९४ दशमलव ०३ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१२ करोड ४२ लाख रुपियाँ)को आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो ।

त्यसैगरी, कारोबार भएको सेयर संख्या (चार लाख २४ हजार कित्ता)को आधारमा कुमारी बैंक अग्रस्थानमा र कारोबार संख्या (एक हजार ७९७ वटा) को आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो ।

Advertisement

Advertisement

Advertisement