अब निजी अस्पतालहरुको सिण्डिकेट तोड्ने उदघोष, ढाड सेक्नेगरी शुल्क लिनुको कारण दिनुपर्ने

Advertisement

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने उद्घोष गरेकी छन् । बुधबार रिपोर्टर्स क्लवमा उनले यातायातपछि सिण्डिकेट तोडने पालो अब स्वास्थ्य क्षेत्रको हो भन्दै भनिन्, ‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु ।’

मन्त्री अर्यालले नेपालको संविधानको मौलिक हकमा नै आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको बताउँदै सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तहः एक अस्पताल’ को कार्यक्रम आउने जानकारी दिइन् ।

सर्वसाधारणलाई ढाड सेक्नेगरी आफूखुशी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारण र कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आफूले परामर्श शुरु गरेको भन्दै उनले अघि थपिन्, ‘ती अस्पतालले लिने शुल्क निर्धारण गरिएका आधारमा हुन्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो सेवाग्राहीले थाहा पाउनेगरी पारदर्शीरुपमा टाँस्न पनि निर्देशन दिन्छु ।’

त्यस्तै उनले औषधीको मुल्य फरक–फरक पाईएकोले अब एउटै दर रेट कायम गर्नेपनि विश्वास दिलाईन् । उनले औषधीको अभाव नहुने विश्वास दिलाईन् । उनले थपिन्, ‘अहिले हामीसँग ९ वटा मेडिकल स्टोर छन्, जहाँ औषधी अभाव हुन्छ, हामी पुर्याउँछौं ।’

मन्त्री अर्यालले स्वास्थ्य बीमालाई अनिवार्य गराई सम्पन्नबाट लिने, कमजोरलाई छुट दिने र नसक्ने विपन्नलाई पूरै निःशुल्कको नीति ल्याइने बताईन् । उनले भनिन्, ‘सरकारले स्वास्थ्य बीमालाई अनिवार्य गराई विपन्नलाई राहत हुनेगरी काम गर्छ, म ढुक्क हुन आग्रह गर्छु ।’ उनले स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुर्याईने जनाईन् ।

विपन्न नागरिक औषधी उपचार कोष अनुसार ८ प्रकारका रोगको लागि दिईन सहायता रकम अहिले कोषमा नरहेको बताउँदै यो कोषमा पैसा पूर्ति गर्नेगरि अर्थमन्त्रालयसँग आफूहरुले छलफल गरिरहेको पनि मन्त्री अर्यालको भनाई थियो । उनले भनिन्, ‘कोष अहिले घाटामा छ, व्यवस्थापन महाशाखाले रकम माँग गरेको छ, आगामी आर्थिक वर्षको लागि रकम पूर्तिको लागि छलफल जारी छ।’

त्यस्तै उनले मन्त्रालयले औषधी व्यवस्थापनको लागि सक्रिय भएर काम गरिरहेको पनि जनाईन् । उनले स्वदेशी औषधीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताईन् । उनले औषधीमा नेपालीहरुले बार्गेनिङ नगर्ने बताउँदै चिकित्सकहरुलाई स्वदेशी उत्पादनका औषधीलाई पहिलो प्राथमिकता दिन आग्रह गरिन् । उनले भनिन्, ‘डाक्टरहरुले पहिलो नम्बरमा स्वदेशी औषधी लेख्नुपर्छ, यदि स्वदेशी सकिएको छ भने मात्रै दोस्रो नम्बरमा विदेशी औषधी लेख्नुपर्छ ।’

त्यस्तै उनले आफूले औषधी उत्पादन संघलाई पनि अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिईन् । उनले भनिन्, ‘औषधी लगायत स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति तथा सिण्डिकेटहरु अन्त्य गर्न म लागिपर्नेछु ।’

Advertisement

Advertisement

Advertisement