एघार बुँदे संकल्पसहित जल, वातावरण र जलवायु परिवर्तनसम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Advertisement

काठमाडौंः “जल, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान तथा साझेदारी” विषयक अन्तर्राष्ट्रिय सम्मेलन ११ बूँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ ।

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स (सोफेन), खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियसनको आयोजनामा यही गएको चैत २७ देखि २९ गते सम्मेलन आयोजना भएको थियो ।

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा हान सेउङ शु, एशियाली विकास बैंकका उपाध्यक्ष बामवाङ, यूनिसेफका राष्ट्रिय निर्देशक तामु होजुमी भारतको डा मोदी विश्वविश्द्यालयका उपकुलपतिलगायत प्रमुख वक्ता रहेको सम्मेलनमा पूर्व तथा बहालवाला मन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य लगायत सामूहिक छलफलमा सहभागी भएका थिए ।

स्थानीय निकायका पदाधिकारी र उपभोक्ता समितिका प्रतिनिधिसहित विश्वभर पानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ र व्यवसायीहरुको सहभागिता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न शत्रमा १८ वटा कि नोट पेपर र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल भएको थियो ।

सम्मेलनमा खानेपानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा मानव समुदायको हितमा किफायती र आधुनिक प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सक्रिय निजी, सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले १९ वटा प्रदर्शनी स्टलमार्फत आ—आफ्ना वस्तु तथा सेवाहरुको प्रदर्शनी गरेका थिए

सम्मेलनको अवधिमा सोफेन र विभिन्न संस्थाहरुबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जल, वातावरण र जलवायु परिवर्तन जस्ता आमसरोकारका विषयमा जनचेतना फैलाउन सम्मेलनबाट पारित संकल्पहरुलाई कार्यान्वयन गर्न देशव्यापी अभियान चलाउने सहमति पनि भएको सोफेनका अध्यक्ष रामदीप शाहले बताए ।

यसकै निरन्तरतास्वरुप आफूहरु छिट्टै स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई स्थानीय तहमा ढल व्यवस्थापनका चुनौति र सरल एवं वैज्ञानिक उपायका बारेमा जानकारी दिने, अनुभव आदानप्रदान गर्ने उद्देश्यले राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गर्ने पनि आयोजकले जनाएका छन् ।

सम्मेलनका संकल्प सहितका सन्देश तथा जल, वातावरण र जलवायु परिवर्तनका स्थानीय मुद्दाहरुको समाधानका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने शाहले बताए । अभियानअन्तर्गत निम्न गतिविधि सञ्चालन हुनेछः

  • मानव मल—मूत्रीय फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक ज्ञान र अनुभवको आदानप्रदान, जनचेतना अभिवृद्धि तथा नीतिगत, संस्थागत, नियामक खाकासम्बन्धी जानकारी दिने र सरोकारवालाको राय पनि लिने उद्देश्यले ७ वटै प्रदेशका नगरपालिका प्रमुखहरु तथा सवबन्धित उपभोक्ता समितिका अध्यक्ष एवं सरोकारवालाहरुको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरिदैछ ।

  • त्यस्तै, नगरपालिकाका इञ्जिनियर÷प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुको तीन दिने मानव मल—मूत्रीय व्यवस्थापन एवं शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय भएको छ ।

  • यस्तै, विभिन्न सरोकारवालाहरुबीच संघीयतामा खानेपानी तथा सरसफाईको विषयमा एक महिनाभित्र एक दिवसीय कार्यशाला गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ ।

  • यस्तै कोरियन स्मार्ट वाटर ग्रीडसंग मिलेर २०७५ साउन महिनामा समार्ट वाटर विषयमा २ दिने कार्यशाला गोष्ठी आयोजना गरिने भएको छ ।

Advertisement

Advertisement

Advertisement