टोखामा स्वास्थ्य सेवा केन्द्र स्थापना

Advertisement

काठमाडौः काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ ।

लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा ल्याइएको छ । नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिए ।

टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टोखाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर, महिलामा हुने पाठेघर अर्बुद रोगको उपचारलगायत काम गर्दै आएको बताए ।

अठ्ठाइस वर्षदेखि स्वास्थ्य सेवामा संलग्न डा प्रदीप ज्ञवालीको सक्रियतामा बनेको सेवा केन्द्रमा वीर, त्रिवि शिक्षण र नेपाल प्रहरी अस्पतालका चिकित्सकले सेवा दिनुहुनेछ । डा ज्ञवालीले स्थानीयवासीको साथ र सहयोग पाएमा आगामी दिनमा धनेश्वरमा १०० शैय्याको सुविधासम्पन्न अस्पताल बनाइने बताए ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले स्वास्थ्य सेवा केन्द्रको स्थापनासँगै चक्रपथभन्दा टाढा गएर स्वास्थ्योपचार गराउन नपर्ने हुँदा जनतालाई ठूलो राहत पुगेको बताउनुभयो । गँगबु, मनमैजु, बानियाँटार, धनेश्वर, साङ्ला, फुटुङ, टोखा, झोरलगायत क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रमा स्थापनाका अवसर पारेर आज ४०० जनाले निःशुल्क स्वास्थ्य जाँचसमेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement