पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

Advertisement

काठमाडौंः काभ्रेको खोपासीमा रहेको दुई दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरेका हुन् । एमओयूको म्याद १० वर्षसम्म रहने छ । दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ । तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ । एमओयू बिहीबारबाटै कार्यान्वयनमा आएको छ ।

प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ । विद्युत गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ ।

विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।

प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए ।

‘शुख्खायामको ऊर्जा बढाउन विद्युत गृहभन्दा तल रहेको सोलान्दु लगायतका खोलाखोल्सीको पानी पम्प गर्ने लगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ’, उनले भने ।

कार्यक्रममा उपकूलपति मकाजू श्रेष्ठले विद्युत गृहलाई विश्वविद्यालयले ज्ञान र सीप आर्जन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘विद्युत गृहलाई सुधार गर्न गर्नु पर्ने काम धेरै छन्, दुई वर्षभित्रै सबै काम सकी विद्युत गृहलाई सिकाईका लागि उत्कृष्ट थलोको रुपमा विकास गर्ने छौं’, उनले भन्न भयो, ‘विद्युत गृहलाई इन्जिनियरिङ अध्ययनका लागि शैक्षिक ग्राम बनाउने छौं ।’

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत सेवा प्रदायक र विश्वविद्यालयबीच विद्युत गृह शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने गरी एमओयू हुनु सुनौलो अवसर भएको बताएका थिए ।

प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको छ । नेपालको पहिलो विद्युत गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालयलाई दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत गृहको निर्माण भएको थियो । विद्युत गृह ३१ असार २०२२ बाट सञ्चालनमा आएको थियो । विद्युत गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement