उज्जन हत्याकाण्डका दोषी ढुँगेल जेलमुक्त हुँदा भव्य स्वागत, आजै विशेष सम्मान

Advertisement

काठमाडौंः ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि गत बर्ष जेल परेका बालकृष्ण ढुँगेल मंगलबार जेलमुक्त हुँदा उनको भव्य स्वागत भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले उनको बाँकी कैद मिनाहा गरेपछि डिल्लीबजार सदरखोर प्रशासनले उनलाई बिहान जेलमुक्त गरिदिएको हो । विवाद र विरोधका बीच राष्ट्रपति भण्डारीले ढुँगेललाई कैद मिनाहा गरिदिएकी हुन ।

सरकारले सिफारिस गरे पनि स्वीकृत गर्ने नगर्ने अधिकार राष्ट्रपतिमा निहीत हुन्छ । तत्कालिन माओवादीका नेता एवं पूर्वसाँसद ढुँगेल उज्जन हत्याकाण्डमा दोषी ठहर भएपछि पनि लामो समयसम्म फरार रहँदै आएका थिए ।

जेलबाट निस्किँदा ढुँगेलको चेहेरामा आक्रोस र अहंता देखिन्थ्यो । उनको स्वागतमा पुगेका झण्डै सय जनाले ढुँगेललाई सयपत्रीको माला र खादा लगाएर भव्य स्वागत गर्नुका साथै उनको समर्थनमा नाराबाजी गरेका थिए ।

ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत आजै माफी पाएका छन् । प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन रहे पनि जन्मकैदको सजाय पाएर गत बर्ष मात्रै जेल चलान गरिएका ढुँगेललाई कैद माफी दिने समय नै भएको छैन ।

ढुँगेललाई उनका समर्थकहरूले नेपाल कम्युनिस्ट पार्टीको कार्यालय (पूर्व माओवादी मुख्यालय) पेरिसडाँडामा लगेर विशेष सम्मान पनि गरेका छन् ।

रिहा भएपछि ढुँगेलले आफ्नो रिहाइ रोक्ने प्रयासलाई परास्त गर्ने आँट गरेको भन्दै सरकारलाई धन्यवाद दिए। उनले आफूलाई मैदानमा आउन नदिन डलरवादीहरू लागिरहेको भन्दै उनीहरु शान्तिमा युद्धको खेती गर्ने र जहिले पनि भिख मागेर खाने डलरवादीहरू भएको बताए ।

आफूले गणतन्त्र ल्याउन ठूलो योगदान गरेको उनको दावी छ । ढुँगेलले रिहा हुँदै गर्दा आफू त्यति खुसी पनि नभएको र त्यति निराश पनि नरहेको भन्दै तर आफूविरुद्ध दायर रिट धेरै पहिला नै खारेज हुनुपर्नेमा अहिलेसम्म पनि त्यसलाई बहसको विषय बनाइएकोमा आपत्ति जनाए ।

ढुँगेलले कानुन व्यवसायी दिनेश त्रिपाठी (जसले ढुँगेलविरुद्ध मुद्दा दायर गरेका थिए) संकटकालमा कस्तो जुत्ता चाटेर बसेका थिए ? भन्दै प्रश्न पनि गरे । उनले कतिपय पत्रकार, न्यायाधीश र कानुन व्यवसायी एक थाल भातमा बिक्ने गरेको भन्दै आक्रोसमेत पोखे ।

Advertisement

Advertisement

Advertisement