विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति रोकिए घिसिङलाई कारवाही

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिँदै विमानस्थल जस्तो संवेदनशील ठाउँको विद्युत आपूर्तिमा कमजारी भए कारवाही गर्नुपर्ने अवस्था आउने भनी सचेत गराए ।

नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ ।

“कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गर्नुस्, कमसेकम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध गर्नुस् । आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ” उनले घिसिङलाई भने ।

विमानस्थलमा थोरै मात्रै विद्युत् अवरुद्ध हुँदा पनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

कार्यकारी निर्देशक घिसिङले ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

समस्या समाधानका लागि प्राधिकरणले विशेष ध्यान दिएको अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हदैसम्मको प्रयास गर्ने घिसिङको भनार्इ थियो ।

उनले भने, “सामान्यखालका समस्या आउन नदिन प्राधिकरण लागिपरेको छ । अत्यावश्यक क्षेत्रमा त झन समस्या आउनै हुँदैन भनेर हामीले प्रयास गरिरहेका छौं ।”

विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरे ।

Advertisement

Advertisement

Advertisement