विश्वकप विजेता जर्मनीलाई म्याक्सिको भारी भयो, जर्मनी १-० ले पराजित

Advertisement

काठमाडौँः यसअघिको विश्वकप फुटबल बिजेता पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको छ । रसियाको मस्कोस्थित लुझ्न्की स्टेडियममा आइतबार राति भएको समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका जाभियर हर्नान्डेजको पासमा हिरभिङ लोजानोले निर्णायक गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जितेको जर्मनी यो विश्वकपको पहिलो खेलमै पराजित भएसँगै उसको विश्वकप यात्रा चुनौतिपूर्ण हुने देखिएको छ ।

आजको खेलमा थुप्रै अवसर खेर फालेको जर्मनीले म्याक्सिकोलाई निकै दबाबमा भने राखेको थियो । करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी जित निकाल्न भने सफल भएन ।

जर्मनीका लागि मारियो गोमेज र जुलियन डाक्सलरले पटक पटक मेक्सिको पोस्टमा चार्ज गरे पनि गोलमा परिणत गर्न सकेनन् । जर्मनीले १८ पटक मेक्सिकोको पोस्टमा चार्ज गरेको थियो । त्यसैगरी मेक्सिकोले भने केबल १० पटक मात्रै जर्मनीको पोस्टमा चार्ज गरेको थियो ।

मेक्सिकोका किपर गुल्लेर्मो ओचोहाले थुप्रै संभावित गोलहरुलाई रोक्न सफल भएका थिए । जर्मनीले निरन्तर आक्रमण गरे पनि मेक्सिकोले काउन्टर एट्याकमा उत्रेर जर्मनीलाई दबाब दिएको थियो ।

जर्मनलीले १६ पटक फ्री किक पाउँदा मेक्सिकोले ११ पटक पाएको थियो । त्यसैगरी जर्मनीले १७ र मेक्सिकोले २० वटा थ्रोइन्स गरे । जर्मनीले गोलका लागि मेक्सिकोका ३ वटा प्रहार जोगायो भने मेक्सिकोले ९ वटा प्रहार बचायो ।

Advertisement

Advertisement