धनगढीबाट गरीब परिचयपत्र वितरण शुरु

Advertisement

धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब) मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेंलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा दिने बताए ।

यसअघि परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो । उपमहानगरमा पाँच हजार आठ सय ८५ जना गरीबीको परिचयपत्र पाउनयोग्य रहेको बताइएको छ ।

उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्रसिं कार्कीले उपमहानगरमा गरीबमध्ये अतिगरीब दुई हजार आठ सय ५८, मध्यम गरीब एक हजार आठ सय ३७ र सामान्य गरीब एक हजार दुई सय ९० जना रहेको जानकारी दिए ।

देशमा कैलालीसहित आठ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ । सरकारले २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य शुरु भएको हो । यसैबीच सेवाग्राहीको समस्यालाई ध्यानमा राखी उपमहानगरले नागरिकता प्रमाणपत्र लिनुअघि आवश्यक पर्ने फाराम सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराउन लागेको छ ।

Advertisement

Advertisement

Advertisement