कतारी राजा र नेपालका प्रधानमन्त्रीको रोहबरमा नेपाल र कतारबीच के के भयो सम्झौता ?

Advertisement

काठमाडौं । नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी तथा सम्झौता भएको छ ।

बुधवार राजधानीको एक होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भएको भेटवार्तापछि दुई सरकारबीच समझदारी तथा सम्झौता भएको हो । 

Advertisement

दुई सरकारबीच नेपाल सरकार र कतार राज्य सरकारबीच युवा र खेलकुद क्षेत्रमा सहयोग सम्बन्धी समझदारी भएको छ । त्यस्तै नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यको समझदारी भएको छ । नेपालको परराष्ट्र मामिला संस्थान र कतार राज्यको परराष्ट्र मन्त्रालयको कुटनीतिक संस्थानबीच कुटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने समझदारी पनि भएको छ । 

त्यस्तै राष्ट्रिय समाचार एजेन्सी, (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । त्यस्तै नेपाल र कतारबीच कला संस्कृतिसंरक्षण एवं उन्नयनको क्षेत्रमा पनि सहकार्य गर्ने समझदारी भएको छ । 

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार नेपाल(कतार संयुक्त बाणिज्य परिषद स्थापना हुनेछ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषदसम्वन्धी सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्नेछन् । 

परिषदले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ । तीब्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको महासंघले जनाएको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ । 

परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका थिए । यसैगरि, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । 

Advertisement