युवा जागरण अभियानको आयोजनामा सुदूरपश्चिमको विकासबारे नीति बहस

Advertisement

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको अगुवाईमा सञ्चालित ‘युवा जागरण अभियान’ले शनिबार प्रदेश ७ लाई लक्षित गरी रोजगारमूलक शिक्षा र स्वास्थ्य विषयमा नीति बहस आयोजना गर्यो ।

कार्यक्रममा सुदूरपश्चिमका काँग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, एनपी साउद, बद्री पाण्डेले बोल्नुका साथै काँग्रेस नेता डा. चन्द्रमोहन यादव, सीटीइभीटीका पूर्वप्रमुख इन्जिनियर सरोज देवकोटा, किङ्स कलेजका प्रिन्सिपल नरोत्तम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

विशेषगरी सुदूर पश्चिमका विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी सो कार्यक्रममा वक्ताहरुले त्यस क्षेत्रको आर्थिक विकासको समस्याका बारेमा बोल्नुका साथै नेपालको शिक्षा तथा स्वास्थ्य नीतिको समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रममा नेता बडुले कुनै पनि देशको विकास भनेको त्यो देशको शिक्षा नीति, शिक्षासम्वन्धी कार्यक्रम, त्यसबाट उत्पादित जनशक्तिले निर्धारण गर्ने बताए । उनले नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न धेरै बहस र छलफल भएर अहिलेको ठाउँमा आइपुगेको भन्दै सुदूरपश्चिमको विकासलाई अघि बढाउने क्रममा त्यहाँको भाषा र संस्कृतिको पनि विकास सँगसँगै अघि बढाउनुपर्ने बताए ।

शिक्षा नीति बनाउँदा एउटा गाउँको किसानको जीवनमा संवृद्धि कसरी ल्याउने ? भन्ने कुरालाई ध्यान दिनुपर्ने बडुको भनाई छ । उनले कम्युनिष्टहरुसँग आफूहरुको कार्यगत र नीतिगत भिन्नता रहेको भन्दै वीपी कोइरालाले जुन गाउँका गरिव किसान एवं श्रमिकहरुलाई लक्ष्य बनाउनु भएको थियो, त्यही नै लक्ष्य अहिले पनि काँग्रेसको रहेको बताए ।

नेता बडुले काँग्रेसको समाजवादको नीति विपन्न वर्गको हित हो भन्दै सोही मर्मअनुसार नयाँ संविधानमा ४६ वटा मौलिक हक राखिएको र ती कुराहरु कार्यान्वयन गर्न जुनसुकै पार्टीको सरकार भए पनि बाँधिएको बताए ।

अभियानका संयोजक चिन्तन पौडेलले सरकारको ध्यान साधन स्रोतको अधिकतम प्रयोग गरेर कसरी बढि रोजगारी सिर्जना गर्ने ? कसरी शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने ? कसरी आर्थिक गतिविधि बढाउने भन्नेमा हुनुपर्ने बताए । उनले नीति बहसलाई सुदूरपश्चिमका नौ जिल्लामा पनि सञ्चालन गर्न लागेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement