ओली सरकारले चेलीहरुको सुरक्षा गर्न सकेनः खतिवडा, जथाभावी बढाइएको कर फिर्ता गर्न माग

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेस नेतृ एवं राष्ट्रियसभा सदस्य धना खतिवडाले चेलीहरुको इज्जत जोगाउन केपी ओली नेतृत्वको सरकार असफल भएको बताएकी छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले सामाजिक अपराधका घट्नाहरुप्रति सरकार संवेदनशील हुन नसकेको बताइन । खतिवडाले भनिन्, ‘कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति निन्दा छ । बलात्कार गरी हत्या गरिएकी निर्मला पन्तका परिवारले न्याय पाउनुपर्छ ।’

सांसद खतिवडाले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिन । त्यस्तै काभ्रेमा ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरिएको घट्नाप्रति पनि सरकार संवेदनशील बन्न नसकेको उनले गुनासो पोखिन् ।

खतिवडाले भनिन्, ‘सामाजिक अपराधका घट्ना नियन्त्रण गर्न वर्तमान सरकार असफल भएको छ । महिला हिंसासँग सम्बन्धित् अपराधका घट्नामा संलग्नलाई पक्राउ गर्ने र कानूनी कारबाही गर्ने काममा सरकार पूर्ण रुपमा असफल भएको छ ।’

ओली नेतृत्वको वर्तमान सरकारको मुलुक समृद्धि र विकासको नारा अहिले सपना मात्रै सीमित भएको उनले आरोप लगाइन् । खतिवडाले भनिन्, ‘सरकारले गफ दिएजस्तो समृद्धि र विकासको नारा सपनामात्रै सिमित भयो । सामान्यतया अहिले देशका खाल्डाखुल्डीहरु पनि पुर्ने काम भएको छैन । काठमाडौंजस्तो उपत्यकामा पनि सडकहरुको उस्तै कन्तबिजोग छ ।’

सरकारले आफ्नो प्राथमिकता समेत तय गर्न नसकेको उनको आरोप छ । खतिवडाले थपिन्, ‘देश विकासका लागि प्रधानमन्त्री ओलीले भनेका कुराहरु आवश्यक छन् । तर कुन काम कहिले आवश्यक छ भन्ने कुरामा सरकारले प्राथमिकता निर्धारण गर्न सकेको छैन ।

त्यस्तै, सरकारले अन्धाधुन्ध सबै क्षेत्रमा कर बढाएकोप्रति पनि खतिवडाको कडा आपत्ति छ । उनले भनिन्, ‘कर बढाउने सरकारको निर्णयमा पनि पूर्नविचार हुनुपर्छ । जनतालाई मारमा पार्ने कुनै पनि हालतमा स्वीकार्य हुँदैन् ।’ नागरिकलाई आर्थिक भार थपिनेगरि विभिन्न शीर्षकमा कर र करको दायरा बढाईएको भन्दै उनले गम्भीर आपत्ति जनाएकी हुन् ।

त्यस्तै दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धिले आकाश छोएको बताउँदै उनले सरकारले कालोबजारी र मुल्यवृद्धिको नियन्त्रण गर्नुको साटो प्रश्रय दिईरहेको अनुभुति आफूहरुलाई भइरहेको गुनासो पोखिन् ।

Advertisement

Advertisement

Advertisement