पोखरा विश्वविद्यालय, यसका आंगिक र सम्बन्धनप्राप्त कलेजहरु मापदण्डविपरित रहेको दावी

Advertisement

काठमाडौं । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालयअन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पूरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पूरा नगरी एकोहोरो नाफा मात्र उद्देश्य राखी क्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामा व्यापारीकरण भएको बताए ।

नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजक नवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले न्यूनतम मापदण्ड पनि पूरा नगरि सञ्चालन गरेको दाबी गरे ।

उनले भने, ‘लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरु र यसका आंगिक कलेजले आवश्यक न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् । शिक्षक, जमिन, ल्याबलगायतका अन्य बिषयहरुमा हामीले अनुसन्धान गयौैं । तर, एउटा पनि कलेजहरुले नियमको पालना गरेको पाएनौँ ।’

त्रिपाठीले थपे, ‘एउटै विश्वविद्यालयको क्याम्पसमा भर्ना हुन समेत फरक मापदण्ड छ । यसले विश्वविद्यालयको परिभाषा नै मिचेको छ । विश्वविद्यालय भनेको ज्ञानलाई उब्जाउ गर्ने ठाँउ हो । तर अहिले यसलाई पैसा कमाउने भाँडो बनाएका छन् । यो दुःखद् पक्ष हो ।’

त्यसैगरि, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति उप–संयोजक सुदर्शन पौडेलले अहिलेको शिक्षा नीतिमा अन्यौलता भएको बताए ।

उनले भने, ‘क्याम्पसहरुले विद्यमान नियम पालना नगरि सञ्चालन गर्नाले कस्तो र कुन स्तरको जनशक्ति उत्पादन होला ? तसर्थ शैक्षिक क्षेत्रमा व्याप्त समस्याहरुको निराकरणको लागि ध्यान दिनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement