लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा दर्जन बढी बेपत्ता, अधिकांश महिला र बालबालिका

Advertisement

रौतहट । गौरको टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ । दुर्घटनामा केही मानिस पौडिएर जोगिन सफल भए पनि एक दर्जन बढी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार डुंगामा सवार १० जना पुरुष र पाँचजना महिला पौडिएर निस्किएको अवस्थामा नदी किनारमा फेला परे पनि अरु महिला र बालबालिका भने बेपत्ता छन् ।

घटनास्थलमा सेना र प्रहरी पुगेर उद्दार र खोजीमा लागे पनि थप विवरण भने प्राप्त भएको छैन । रातको समय भएकाले उद्दारमा समस्या भइरहेको छ । डुंगामा कति सख्यामा यात्रु थिए भन्ने यकिन भएको छैन ।

स्थानीयले डुंगामा ४० बढी सवार भएको बताए पनि डुंगा चालकले भने २५ भन्दा बढी सवार रहेको बताएका छन् । घाँस काटेर तथा खेतमा काम गरेर गौरतर्फ आउँदै गरेको डुंगा पल्टिएको हो।

लालबकैयामा विगतमा पनि डुंगा दुर्घटना हुने गरेको थियो । टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा डुगा टोक्किएर पल्टिएको हुन सक्ने स्थानीयको अनुमान छ। त्यस स्थानमा बिगत ३ बर्ष अघिदेखि पक्कीपुल निमार्ण भइरहेको छ।

डुंगा चालकले नदीको बीच भागमा केही चिजमा डुंगा ठोक्किएपछि पल्टिएको बताएको प्रहरीको भनाई छ । अर्कोतर्फ लालबकैया नदीमा बाढी आएकोले पनि उद्दार र रोजीमा थप कठिनाई भएको छ ।

Advertisement

Advertisement

Advertisement