लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने श्रीलंकाको प्रस्ताव

Advertisement

बुटवल । श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो ।

लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन पश्चात् मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि आयोजित विशेष कार्यक्रममा राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्य सिंहाले बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको घोषणा गरे ।

यसअघि श्रीलङ्काका राष्ट्रपति सिरिसेनाको सम्मानमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटक आउने भारत र चीनपछि श्रीलङ्काली भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा ५० हजार पर्यटक नेपाल आएको जानकारी दिए ।

नेपाल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सम्पर्क नहुँदा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा अझै उल्लेख्य वृद्धि हुन नसकेको उल्लेख गर्दै उनले अर्को वर्षबाट सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि दुई देशको जनताबीचको सम्बन्ध विस्तार र लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख वृद्धि हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा मन्त्री अधिकारीले गत वर्ष दुई देशबीचको मैत्रीसम्बन्धको ६० वर्ष पूरा हुने उल्लेख गर्दै सन् १९९९ मा दुई देशबीच भएको सांस्कृतिक सम्झौताले सामाजिक एवं साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे ।

पर्यटनमन्त्री अधिकारीले सन् २०१५ मा गएको भुकम्पबाट क्षति भएको रातो मच्छिन्द्रनाथ, स्वयम्भुस्थित बुङमति विहार र आनन्दकुटी विहारका पुनः निर्माणमा श्रीलङ्का सरकारले सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।

श्रीलङ्का सरकारले यसअघि लुम्बिनीको विकासमा लुम्बिनीको विहार क्षेत्र अन्तर्गत मुख्य ४ नं गेटबाट श्रीलङ्का बौद्ध विहार पुग्ने सडक निर्माणमा लगानी गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराई बताउँछन ।

उनले श्रीलङ्का सरकारबाट गुरुयोजना पूरा गर्न राष्ट्रपतिका तर्फबाट नै भएको घोषणाले उत्साहित बनाएको बताए ।

Advertisement

Advertisement

Advertisement