गणतन्त्र असफल भयो अब संवैधानिक राजतन्त्रमै जाने कि ?

Advertisement

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संघीयता असफल भएकाले अब संवैधानिक राजतन्त्रमा जानुपर्ने संकेत गरेका छन् । उक्त पार्टीसम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशको कार्यक्रममा शुक्रबार उनले संघीयता असफल भएकोले बाटो परिवर्तन गर्नुपर्ने बताए ।

थापाले संघीयताले देशमा झन अन्योलता र अप्ठ्यारो सिर्जना भएको भन्दै देशको दुरदशाको कारण गलत नीति र गलत व्यवस्था भएको बताए । धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपालको लागि उपयुक्त नीति र व्यवस्था होइन भन्दै घुमाउरो भाषामा संवैधानिक राजतन्त्र नै ठिक भएको बताए ।

देशको हितको लागि अब सहमतिमा नयाँ बाटो खोज्नुपर्ने बेला आएको थापाको भनाई छ । उनले १० वर्ष जनयुद्ध र नयाँ संविधान बनाउने नाममा देशले महत्वपूर्ण समय खेर फालेको भन्दै अझै समय खेर फाल्न नहुने बताए ।

संविधान लागू भएपछि सिंहदरबारको अधिकार गाउँगाउँ नपुगेको बरु सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको भन्दै थापाले गणतन्त्र धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थालाई छलफल र बहस नगरी हटाइएको भन्दै यसलाई सच्याउनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement