दशैं नजिकिएसँगै दुर्घटना बढ्यो, पाँच दिनमा ३४ जनाको मृत्यु

Advertisement

काठमाडौं । दशैं दैलैमा आएसँगै यात्रु र गाडीको चाप श्वात्तै बढेको छ । अत्याधिक चाप हुँदा दुर्घटना पनि बढेको छ । पछिल्ले पाँच दिनमा मात्रै विभिन्न दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको तथ्यांक अनुसार घटस्थापनाका दिनदेखि सोमबार अपराह्न्नसम्म दुई सय १३ वटा सवारी दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाईते भएका छन् । घाईतेमध्ये ५५ जनाको अवस्था गम्भिर छ । काठमाडौं उपत्यकामा मात्रै एक सय ५१ वटा सवारी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायतका ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको छ । सोमबार बिहानमात्र गुल्मीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । यस तथ्यांकले दशैं बढेसँगै दुर्घटना पनि बढेको देखिएको छ ।

गत वर्षको दशैंमा घटस्थापनादेखि पुर्णिमासम्म तीन सय ८० वटा सवारी दुर्घटनामा परी एक सय ४ जनाको मृत्यु भएको थियो ।

प्रहरी प्रवक्त शैलेस थापाले चाडपर्व बढेसँगै लापरवाही पनि बढेको कारण दुर्घटना बढेको बताउँछन् । चाडपर्व लागेको भन्दै केहिले जाँड, रक्सीलगायत लागु पदार्थको सेवन गरेर गाडी चलाउँदा, गाडीको क्षमताभन्दा धेरै यात्रु बोक्दा, ग्रामिण क्षेत्रका मोटर बाटो नराम्रो हुँदा दुर्घटना बढेको उनले बताए ।

यस्तै दशैं त हो नि भनेर अभिभावकले सवारी अनुमति पत्र लाइसेन्स नभएका छोराछोरीलाई मोटरसाईकल तथा स्कुटर किनिदिने गरेकोले पनि दुर्घटना बढेकोले त्यसरी हल्का रुपमा सवारी नदिन पनि उनले आग्रह गरे ।

चाडपर्वमा बढ्दो सवारी दुर्घटना कम गर्न मन्दै देशभर थप २३ सय प्रहरी खटाइका छन् । खटाइएका प्रहरीले विभिन्न ठाउँमा सुरक्षाकासाथै चालकले जाँड रक्सी खाए नखाएको बारे जाँच गर्ने गरेका छन् । यस्तै दुर्घटना हुन सक्ने सम्भावित ठाउँहरुमा मोटरसाईकलसहित प्रहरीहरु खटाइएको प्रवक्ता थापाले बताए । यति हुँदा हुँदै पनि व्यक्ति आफैं सचेत भएर यात्रा नगर्दा दुर्घटना निम्तिएको प्रहरीको निष्कर्ष रहेको छ ।

त्यस्तै लामो दुरीको सवारीमा हुने दुर्घटना न्युनिकरण गर्न प्रहरीले चालकका लागि आराम कक्षको व्यवस्था गरेको छ । अहिले हरेक सात प्रदेशका मुख्य मुख्य राजमार्गमा दुई–दुई वटा आराम कक्ष स्थापना गर्ने तयारी गरेको छ । अहिले एउटा–एउटा आराम कक्षको व्यवस्था भईसकेको र अब एक–एक वटा आराम कक्ष थप्ने तयारी भईरहेको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement