काँग्रेसलाई एक ढिक्का बनाउँछु, अनि मात्रै विश्राम लिन्छुः देउवा

Advertisement

काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट आफ्नो पार्टीको सिद्धान्त विजय भएको भन्दै खुशी जनाएका छन् ।

दशैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान गर्न काँग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित मत परिणाम ल्याउन नसके पनि आफ्नो पार्टीको सिद्धान्तको भने विजय भएको तर्क गरेका हुन ।

उनले अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउने जिकिर गरे । देउवाकै कारण काँग्रेसले लज्जास्पद पराजय भोगेकोले उनले नैतिकरुपमा त्यसको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्वयम काँग्रेसका नेता कार्यकर्ताबाट दबाब ढिरहेको बेला देउवाले तत्काल नेतृत्व नछाड्ने संकेत गरेका हुन ।

उनले आफू निरन्तर पार्टीमा लागिरहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए । देउवाले देश अप्ठ्यारो अवस्थामा रहेको बताए । उनले मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको भन्दै सरकारको आलोचना गरे ।

काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को निर्वाचन जित्नसक्ने भन्दै गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पराजय भोग्नुपरेको तर्क गरे ।

पूर्वमन्त्री प्रकाशशरण महतले काँग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको बताए । काँग्रेस काठमाडौँ जिल्ला अध्यक्ष सबुज बानियाँ, नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्रीय सभापति भवानी केसी, प्रदेशसभा सदस्य नारायण सिलवाललगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement