अब पर्यटकीय बस चढेर जनकपुर जान पाइने, आजैदेखि सेवा सुरु

Advertisement

काठमाडौं । दीपज्योती टुर्स एण्ड ट्राभल्सले काठमाडौं–जनकपुर पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौं–पोखरा बस सेवा सञ्चालन गरेको कम्पनीले आइतबारदेखि काठमाडौं हुँदै काभ्र–सिन्धुली–बर्दिबास–जनकपुर बस सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका सञ्चालक टंक थापाका अनुसार नेपालकै प्रमुख मध्येको धार्मिक पर्यटकीय स्थल तथा प्रदेश नं २ लाई काठमाडौंसँग जोड्न उक्त बस सेवा सञ्चालनमा ल्याइएको बताए । काठमाडौंको सोह्र खुट्टेबाट हरेक दिन बिहानको सात बजे जनकपुरका लागि उक्त बस छुट्ने उनले बताए ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिवान)का अध्यक्ष प्रह्लाद दोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौं–जनकपुर बस सेवाले ठूलो सहयोग गर्ने बताए । सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरागर्न यस्ता सेवाले सहयोग गर्ने उनले बताए ।

बस सेवा सञ्चालनमा आएसँगै समस्या पनि सिर्जना भएको छ । दैनीक हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई आवत–जावतमा महत्वपूर्ण भुमीका रहेको यस बस सेवाका लागि बसपार्क नहुँदा समस्या परेको छ । कान्तिपथबाट पर्यटक बोकेर मुलुकका विभिन्न पर्यटकीय स्थानहरुमा जाने पर्यटकीय बसलाई बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट पर्यटक बोेकेर हिड्नुपर्ने समस्या रहिआएको छ ।

पर्यटन विकासका लागि एसोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटकीय बस सेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा बर्दियामा पनि बस सेवा सञ्चालन गर्ने लक्ष्य रहेको एसोसिएसनका अध्यक्ष लोहनीले जानकारी दिए । हाल काठमाडौंबाट मुलुकका विभिन्न पर्यटकीय स्थलमा जान करिब एक सय वटा पर्यटकीय बस सेवा सञ्चालनमा रहेको उनले जानकारी दिए ।

Advertisement

Advertisement