सरकारले इजरायल र अफ्रिकाका राजदूतलाई फिर्ता बोलायो, आचार्य भारतका लागि राजदूत सिफारिस

Advertisement

काठमाडौ । सरकारले इजरायल र अफ्रिकाका राजदूतलाई फिर्ता बोलाएको छ । इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा र अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाएको हो ।

सरकारको यही कात्तिक २५ गते बसेको बैठकले यो निर्णय गरे पनि बिहीबार मात्रै सुचना बाहिर आएको हो । इजरायलका लागि गायिका एवं व्यवसायी अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । फिर्ता बोलाइएका थापा यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूत भएका थिए ।

साथै, सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र यूएईका लागि परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्तिको सिफारिस गरेको छ । साथै, सोही मन्त्रिपरिषद बैठकले पूर्वराजा विरेन्द्र शाहको नाममा रहेको विभिन्न जग्गा नेपाल ट्रस्टअन्तर्गत ल्याएको छ ।

निर्णयअनुसार गोकर्णमा रहेको ७० रोपनी ९ आना, कमलादीमा रहेको १४ आना र मध्यपुर थिमीमा रहेकोसमेत गरी ७१ रोपनी जग्गा ट्रस्टका नाममा ल्याइएको हो। साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।

Advertisement

Advertisement