रेष्टुरेन्टहरुले मेनु मूल्यमा कर र सेवा शुल्क त जोडिरहेको छैन् ? जोडे प्रतिवाद गर्नुहोस्

Advertisement

काठमाडौं । मूल्य सुची वा मेनु जारी भएका वस्तु तथा सेवा खरिदगर्दा वा होटल तथा रेष्टुरेन्टमा गई खाना वा नास्ता खाँदा बिक्रेताले तपार्इंलाई मेनुमा लेखिएको मूल्यमा कुनै किसिमको कर वा सेवा शुल्क जोडेर त लिएको छैन ?

यदि लिएको छ भने प्रतिवाद गर्नुहोस । मेनुमा उल्लेख भएको मूल्यमा कर वा सेवा शुल्क जोडेर रकम अशुल्न पाइँदैन । त्यस्ता बस्तु तथा सेवामा बिक्रेताले पहिले नै कर तथा सेवा शुल्क जोडेर मेनुमा मूल्यसुची राख्नुपर्ने अनिवार्य नियम कार्यान्वयनमा आइसकेको छ ।

कर नियमावलीअनुसार मेनु मूल्यमा भ्याट र सेवा शुल्क जोडेर उपभोक्तासँग रकम अशुल गर्न मिल्दैन । यस नियमावलीलाई कडाइकासाथ कार्यान्वयन गर्ने भन्दै आन्तरिक राजश्व विभागले यदि कुनै होटल, रेष्टुरेन्ट वा मेनुअनुसार वस्तु तथा सेवा बिक्री गर्ने जुनसुकै बिक्रेताले अतिरिक्त रकम लिएको पाइए कर कार्यालयहरुले कारवाही गर्ने जनाएको छ ।

विशेषगरी होटल तथा रेष्टुरेन्टहरुले मेनु मूल्यमा भ्याट र सेवा शुल्क जोडेर उपभोक्ताबाट रकम अशुल्ने चलन रहँदै आएको छ । तर अब त्यसरी रकम अशुलेको पाइए बिक्रेताहरु कडा कारवाही हुने विभागका प्रवक्ता यज्ञप्रसाद ढुँगेलले बताए । उनले विभाग र करदाता सेवा कार्यालयको टोलीले नियमित अनुगमन गर्ने बताए ।

यस प्रावधानले मेनुको मूल्य हेरेर होटल तथा रेष्टुरेन्टमा खान बसेका ग्राहकहरुले अब अतिरिक्त मूल्य देखेर तर्सिनुपर्ने अवस्था रहँदैन । मूल्य सुची वा मेनुलाई कर तथा सेवा शुल्क समावेशी (इनक्लुसिभ) बनाउने प्रावधान २०७३ देखि नै लागू भए पनि कार्यान्वयन हुन सकेको थिएन् । यस बर्षबाट यसलाई कडाईका साथ कार्यान्वयन गर्न कर कार्यालयहरुलाई निर्देशन दिइएको ढुँगेलले बताए ।

करदाताहरुमा केही अस्पष्टता रहेको कारणले मेनुमा मूल्य अभिवृद्धि कर र सेवा शुल्क जोडेर लिने गरेको हो कि ? भन्ने लागेर विभागले यसबारेमा सुचना जारी गरेको उनले बताए । ढुँगेलले भने, ‘यदि सुचना जारी गरिसकेपछि पनि मेनुलाई समावेशी नगराएको भेटिएमा त्यस्तो करदातालाई कानुन बमोजिम कारवाही हुन्छ ।’

यसअघि विभागले रेष्टुरेन्ट सञ्चालकहरुलाई छलफलमा बोलाएर कर तथा सेवा शुल्क समावेश गरी हुन आउने रकम नै मेनुमा राख्न निर्देशन दिएको थियो । उनले थपे, ‘ग्राहकले मेनुमा लेखेको भन्दा बढि तिर्नु पर्दैन । जसका लागि बिक्रेताले पहिले नै कर र सेवा शुल्क जोडेर हुन आउने रकम उल्लेख गरेर मेनु प्रकाशित गर्नुपर्छ ।’

मेनु मूल्यमा कर र सेवा शुल्क जोडेर रकम लिँदा ग्राहकहरु पनि अन्यौलमा पर्ने र उठाएको भ्याट बुझाए नबुझाएको थाहा नहुने भएकाले समावेशी मेनुको प्रावधान कडाइका साथ लागू गर्न लागिएको हो । साथै, मेनुको मूल्य हेरेर खान बसेका ग्राहकहरुलाई भ्याट र सेवा शुल्क जोडेर पैसा लिँदा पैसा नपुग्ने र उनीहरु समस्यामा समेत पर्ने गरेका छन् । यसरी मेनुमा अन्तिम मूल्य नै राख्दा ग्राहकलाई सहज हुने र कर असुली प्रक्रियामा पनि सहजीकरण आउने विभागको भनाइ छ ।

Advertisement

Advertisement