‘अबको सभापति जो भए पनि हुन्छ, कोइराला नै हुनुपर्छ भन्ने छैन्, तर देउवाबाट पार्टी चल्दैन्’

Advertisement

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गरेकी छिन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भनिन्, ‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्णरुपमा ‘फेलियर’ भयो ।’

अहिलेको सरकारले मुलुकमा स्थिरताको साटो अस्थिरता सिर्जना गरेको भन्दै कोइरालाले विकास निर्माणका कामले गति लिन नसकेको, कर बढाएर जनतालाई भार थप्ने काम गरेको बताइन । उनले वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको आरोप लगाईन् ।

कोइरालाले भनिन्, ‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् । साँच्ची भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’

आफूहरुले यसलाई गम्भीर भएर समाधान गर्न नसके मुलक गम्भीर समस्यामा जाने उनको भनाई छ । कोइरालाले भनिन्, ‘यो सब कारण कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भिर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । देशमा सुरक्षा दिन्छौं । र, यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर देखाउँछौं ।’

उनले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाईन् । कोइरालाले भनिन्, ‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ । यो कामलाई गाउँ गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ । हामी तीन जना कोइरालाहरु शशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’

आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको कोइरालाको भनाई छ । उनले भनिन्, ‘समय आएपछि सबैजना बसिकन् सल्लाह गरेर मात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तुर, अहिले भने हामीहरु तीन जना एकजुट भइकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’

नेतृ कोइरालाले अहिले पनि कांग्रेसका कोही पनि नेता तथा कार्यकर्ता निराशा बन्नुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले भने, ‘कांग्रेस अहिले पनि बलियो छ । पहिला पनि धेरै चोटी नेपाली कांग्रेस सिद्दियो सिद्दियो भन्ने हल्ला हुन्थ्यो । तर, फेरि कांग्रेस चुनाव जितेर आउँथ्यो । यस्तो पनि हामीले देखेका छौं । यो प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । नेपाली जनताले प्रजातन्त्र चाहेका छन् । जनताले प्रजातन्त्रलाई नै पहिलो प्राथमिकता दिएका छन् । जनताको आवश्यकता र भावनाअनुसार नै कांग्रेसले आन्दोलन गरेको इतिहाँस छ ।’

कोइरालाले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भइरहेको सुनाउँदै तर अहिले पनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् । उनले भनिन्, ‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौं । तर, यही समय सँधै रहिरहन्छ भन्ने छैन् । जनताको बिचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आँफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन् । प्रजातन्त्र समाप्त हुँदैन् ।’

काँग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको पनि कोइरालाले सुनाइन् । उनले भनिन्, ‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधान पनि कांग्रेसले नै गरेको हो । मुलुकमा जति पनि अस्थिरता हुन्छ, त्यसको समाधान पनि कांग्रेसले नै दिएको छ र दिन्छ । यो मुलुकलाई फेरि उचाइमा लिएर जान्छौं । देशमा गर्व गर्ने दिन फेरि आउँछ । त्यो दिन धेरै पर छैन् ।’

फरक प्रसँगमा उनले पार्टीभित्र सबै नेताको आ–आफ्नै ठाउँ, भूमिका, स्थान, क्षमता अस्तित्व रहेको सुनाउँदै भनिन्, ‘सबैले सभापतिमा लड्न पनि सक्दैनन् । एउटै पद दश जनाले लिन पनि सक्दैनन् । त्यसैले मलाई लाग्यो, बरु म ब्याक भएर सहयोग गर्छु, अगाडि बढ्नुहोस् । राम्रो काम गर्नुहोस् । जो कोही पनि सभापति हुन सक्छन् । कोइराला नै हुन्छन् भन्ने छैन् । कोइरालाहरु अहिले एकजुट भएको कारण पनि पार्टी बचाउनकै लागि हो । अरु केही होईन् । संगठनलाई बलियो बनाउनकै लागि हो । पदको लागि होइन् । अस्ति भर्खरै शशांक र शेखर कोइरालाले बोलि पनि सक्नुभएको छ । र, म पनि तपाईहरुलाई त्यो भन्न चाहन्छु अरु पार्टीमा धेरै साथीहरु हुनुहुन्छ । सबैको आफ्नो आफ्नो ठाउँमा संघर्ष गरेको इतिहाँस छ । जिम्मेवारी लिएर काम गरेको सबैको अनुभव छ । सबैजना हामी मिलेर नै जानुपर्छ ।’

सबैले पार्टीलाई नै प्राथमिकता दिनुपर्ने नेतृ कोइरालाको सुझाव छ । उनले भनिन्, ‘पार्टी नै बलियो भएन भने हाम्रो कुनै अस्तित्व छैन । नेपाली कांग्रेस कमजोर भयो भने देश पनि कमजोर हुन्छ भन्ने कुरा त हामी देखिराखेका छौं ।’ कांग्रेसको नेतृत्वमा कोइराला परिवारबाट शशांक कि शेखर भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो अहिले म भन्न सक्दिन् । के हुन्छ ? कसरी हुन्छ ? भन्ने कुरा अहिले कसरी भन्ने ? यो त पछिको कुरा हो । अरु साथीहरु पनि हुनुहुन्छ । अहिले समय आएको छैन् । समय आएपछि उहाँहरु बस्नुहुन्छ । सल्लाह गर्नुहुन्छ । अहिले त संगठन गर्ने बेला हो । त्यसको लागि हामी अघि बढ्छौं ।’

त्यस्तै नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् । उनले भनिन्, ‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’

आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्धवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भनिन्, ‘सभापति बन्नको लागि अब सबै जनाको तयारी त भैरहेको छ नि । अरु पनि छन् । देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ ।’

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ । कोइरालाले भनिन्, ‘उहाँले गरेका गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघिपनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुरदशा हामीले भोग्नुपरिरहेको छ ।’

उनले पार्टीको सिद्धान्त भनेको नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएकोले यही सिद्धान्त टेकेर अघि बढ्यो भने अर्को चुनावमा कांग्रेसले बहुमत ल्याउनेमा आफूलाई पूरा विश्वास रहेको पनि सुनाईन् । कोइरालाले थपिन्, ‘तर, हाम्रो एकता हुनुपर्छ । पार्टीभित्र एक भईकन हामी अगाडि बढ्नुपर्छ ।’ कांग्रेसभित्र हिन्दूराष्ट्रको कुरा नउठेको पनि उनले दाबी गरिन् ।

Advertisement

Advertisement

Advertisement