झा भन्छन्– मेरो छानविन होस्, तर अन्याय गर्न पाइन्न, विनोद चौधरीले खेलेको आरोप

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समितिमा आलोचना भएपछि राजीनामा दिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई बिना कारण अन्याय गर्न खोजिएको गुनासो पोखेका छन् ।

सरकारले आर्थिक प्रलोभनमा परेर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाएको आरोप खेप्दै आएका झाले भने– न मैले घुस खाएको छु, न ख्वाएको छु । बिना आधार र प्रमाण कसैलाई अनुमानको भरमा आरोप लगाउन पाइन्छ ? म काम गर्ने मान्छे हो । काम गर्ने क्षमता र योग्यता भएकोले नै प्रतिस्पर्धाबाट छनोट भएर नियुक्ति भएको हो । मभन्दा अर्को व्यक्ति योग्य भएको भए मलाई किन सरकारले अध्यक्ष बनाउथ्यो ? उसैलाई बनाउथ्यो ।

झाले मेरो कारणबाट प्रधानमन्त्रीलाई अप्ठ्यारो परेकोले आफूले राजीनामा दिएको भन्दै तर राजीनामा दिनुपर्ने कुनै गल्ती नगरेको जिकिर गरे । उनले दिएको राजीनामा स्वीकृत भएको छैन् । झाले आफूले अहिलेसम्म भएका नियुक्तिमा एउटै बदमासी वा गलत काम गरेको भए कारवाही भोग्न तयार रहेको चुनौति दिए ।

उनले भने– म काम गर्ने मान्छे हो । काम गरेरै क्षमता देखाउँदै आएको छु । नियम कानुनअनुसार ठिक छ भने म कसैले दबाब वा प्रलोभन दिएर निर्णय गर्न पछि हट्दिन । तर अहिले मलाई जसले नियुक्त गर्यो, सोही पार्टीका नेताहरुले अर्नगल आरोपहरु लगाउँदा चित्त दुखेको छ ।

झाले प्रश्न गरे– मलाई के आरोप हो देखाइदिनु पर्यो ? मैले कस्लाई घुस दिए ? कोबाट घुस लिए देखाइदिनु पर्यो ? हावाको भरमा आरोप लगाउँदा मानिसको इज्जत प्रतिष्ठामा आँच पुग्छ भन्ने उहाँहरुलाई लाग्दैन् ? गलत काम नगर्दा नगर्दै कसैको मानमर्दन गर्न पाइन्छ ? मैले प्रतिस्पर्धा गरेर योग्यताका आधारमा पद लिएको हो ?

झाले आफूले कुनै गति गरेको छ भन्ने लाग्छ भने छानविन समिति बनाउन सुझाव दिँदै तर विना कसुर अन्याय गर्ने र व्यक्तिलाई बदनाम गर्न नपाइने तर्क गरे । उनले भने– म पनि यो देशको नागरिक हो । मलाई न्याय चाहिन्छ । आरोप लगाउनेहरुको इज्जत हुने, मेरो चाहीं हुँदैन ?

विनोद चौधरीलगायतले खेलेको आरोप
झाले आफूलाई प्राधिकरणको अध्यक्ष हुन नदिन विनोद चौधरीलगायतका माफियाहरुले खेलेको आरोप लगाए । चौधरी विश्वकै धनाड्यहरुको सुचीमा परका व्यवसायी हुन् । आफूले फ्रिक्वेन्सी शुल्कवापतको रकम नबुझाई सिजी टेलिकमलगायतलाई लाइसेन्स दिन नमानेपछि चौधरी दीपक जोशी (सर्वोच्चका वरिष्ठ न्यायाधीस)लाई भेट्न गएको खुलासा गरे ।

उनले भने– मैले बक्यौता नतिरी लाइसेन्स नदिएको भए भोलि तपाईंले के भन्नुहुन्थ्यो भने झाले चौधरीसँग पैसा खाएर लाइसेन्स दियो । यस्तो गलत काम मबाट हुँदैन, पहिला राज्यलाई दिनुपर्ने कर बुझाउ, म लाइसेन्स दिन्छु भनेको हो । त्यसले ऊ को कस्लाई भेट्न भयो । मलाई हटाउने खेलमा लाग्यो । जोशीले आफ्नो अन्तिम इजलासबाट सिजी टेलिकमलाई लाइसेन्स दिन अन्तिम आदेश दिएका थिए ।

आफूलाई हटाउन लाग्नेमा युनाइटेड टेलिकम (यूटीएल), स्मार्टसेल, अजय सुमार्गीको नेपाल स्याटलाइट टेलिकम र एनसेल नै पनि लागेको हुनसक्ने झाको भनाई छ । उनले भने– टेलिकमभित्र पनि ठूलठूला शक्ति केन्द्रहरु छन् । उनीहरु नेतादेखि न्यायाधीसलाई आफ्नो प्रभावमा पार्नसक्छन् भने मलाई हटाउन खोज्नु स्वाभाविक हो । उनीहरुको स्वार्थलाई मात्रै हेरेर म काम गर्न सक्दिैन नियम कानुनबाहिर गएर । भएको त्यही हो जस्तो लाग्छ ।

विनोद चौधरी आफूसँग रिसाउनुको कारण लाइसेन्स नदिएर मात्रै नभएर अरु पनि चार पाँच वटा कारण रहेको झाले बताए । तर ती कारण के के हुन ? उनले खोल्न चाहेनन् । चौधरीका एक सहयोगीले भने झाले लगाएको आरोप मिथ्या भएको बताए । उनले विनोद चौधरी काँग्रेसको नेता भएको र झाको विषय सरकारको भएकोले आरोपमा सत्यता नभएको तर्क गरे । उनले भने– आफूलाई हटाएपछिको छटपटि हो । दिगम्बर झालाई सबैले चिनेका छन् । उहाँले आरोप लगाउँदैमा कसैले पत्याउँदैन् ।

झाले एनसेलको कर बक्यौता अर्थ मन्त्रालयले नै आलटाल गरेको बताए । झाले एनसेलको लाभकर एनसेलले नै तिर्नुपर्छ भन्दै सेयर बेचेर गइसकेको टेलियासोनेरालाई पत्र पठाउने अर्थ मन्त्रालयको यसअघिको निर्णय नै गलत भएको बताए । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले टेलियासोनेराका पदाधिकारीलाई भेटेपछि एनसेलबाट उठाउनुपर्ने दायित्व टेलियाबाट उठाउने भन्दै एनसेललाई करमुक्त गर्ने प्रयास गरेका थिए ।

Advertisement

Advertisement

Advertisement