अर्थमन्त्री खतिवडा अध्यादेशमार्फत कर्मचारी समायोजन ऐन ल्याउने कदमको विपक्षमा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आफू अध्यादेशमार्फत कानुन ल्याएर शासन सञ्चालन गर्ने परिपाटीको विपक्षमा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसको कार्यक्रममा शनिबार उनले सरकारले संसदको बैठक डाक्नुको सट्टा अध्यादेशमार्फत कर्मचारी समायोजन सम्बन्धि ऐन जारी गर्ने तयारी गरेको समाचार बाहिर आइरहेको बेला उनले यस्तो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले भने, ‘संसदलाई छलेर ऐन कानुन ल्याएर शासन गर्ने पक्षमा म छैन् । म सधै नै यसको विरोधी हुँ ।’ उनले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको कर्मचारी समायोजन ऐनको नाम नलिए पनि आसय त्यही नै थियो ।

खतिवडाको भनार्इबाट उनी कर्मचारी समायोजनसम्वन्धी कानुन अध्यादेशमार्फत ल्याउने कुराको विपक्षमा देखिन्थे । उनले अर्थमन्त्रालयसँग जोडिएका धैरै ऐन कानुनहरु निर्माण र संशोधन गर्नुपर्ने भए पनि आफूले अध्यादेशको सहायता नलिने बताए ।

खतिवडाको यो भनार्इले केपी वली नेतृत्वको सरकारको मन्त्रिपरिषदमा नै कर्मचारी समायोजन ऐनलाई ल्याउने प्रक्रियामा विवाद भएको देखिन्छ । सरकारले संसद भवन मर्मतकार्य भइरहेको बहानामा संसदलाई छलेर अध्यादेशमार्फत ऐन जारी गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।

लक्षित आर्थिक वृद्धिदर हासिल गर्न १४ खर्ब लगानी आवश्यक
अर्थमन्त्री खतिवडाले सरकारले लिएको आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सार्वजनिक र निजी क्षेत्रबाट गरी १४ खर्ब रुपियाँ लगानी आवश्यक भएको बताए ।

उनले यो लगानी स्वदेशी पुँजीबाट मात्र संभव नभएको भन्दै विदेशी सहयोग पनि आवश्यक भएको बताए । ठूलो व्यापार घाटा चिन्ताको विषय भएको भन्दै खतिवडाले यसलाई न्यूनीकरण गर्न ठूलो लगानी आवश्यक रहेको बताए ।

उनले नेपाल वायुसेवा निगमको विमान खरिद र जलविद्युत उपकरण खरिदका लागि ठूलो रकम बाहिर गएकाले व्यापार घाटा बढेको तर्क प्रस्तुत गरे । निर्यात नबढ्ने तर आयात उच्च दरमा बढ्दा सरकारको चालु खाता र शोधनान्तरस्थिति घाटामा रहेको सुनाउँदै खतिवडाले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

मन्त्री खतिवडाले संसद भवन मर्मत भइरहेकाले बैठक बस्न ढिलो भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट आर्थिक क्षेत्रका सबै विद्येयक पारित हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा चुलिँदै जानु चिन्ताको विषय भएको बताइन् । उनले निर्यात व्यापार बढाउन प्रोत्साहन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने बताइन् ।

कार्यक्रममा समाजले हरेक बर्ष दिँदै आएको सेजन अवार्ड यस बर्ष क्यापिटल नेपालका सुवास योञ्जन र नागरिक दैनिकका रुद्र खड्कालाई प्रदान गर्यो । त्यस्तै, समाजले लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका अर्थको अर्थका ह्दय गौतम, कारोबार दैनिकका कुवेर चालिसे र आर्थिक अभियान दैनिकका मदन लम्साललाई सम्मान गर्यो ।

Advertisement

Advertisement

Advertisement