विवादास्पद सम्मेलनका आयोजकले प्रधानमन्त्रीलाई दिए एक लाख डलरको सुशासन पुरस्कार

Advertisement

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ) नामक इसाई धर्मप्रचार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलरसहित नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ।

चौतर्फी आलोचनाको शिकार बनेको सम्मेलनले आफ्नो समापन कार्यक्रममा प्रधानमन्त्रीलाई सो पुरस्कार प्रदान गरेको हो । अन्य मुलुकहरुले आयोजना गर्न नदिएपछि नेपालमा आयोजना गरिएको यस सम्मेलन नेपालमा आयोजना गर्न दिएको र कुटनीतिक मर्यादा तोडेर सहभागीलाई स्वागत र सम्मान गरेको भन्दै सरकारको आलोचनासमेत भइरहेको छ ।

आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलन २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो।

उदघाटनसमेत पुगेको प्रधानमन्त्री ओली समाधानमा पुरस्कार थाप्न पनि सम्मेलनस्थल पुगेका थिए । यद्यपि उनले सरकारको सम्मानमा दिइएको पुरस्कारको रकम नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने बताए ।

कार्यक्रम ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताउँदै सुशासन बिना विकास सम्भव हुन नहुने र सरकार जनसेवाका सबै क्षेत्रहरूमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताए ।

उनले भने, “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशासन सम्भव छैन । हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं।”

ओलीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने भन्दै नेपाल सरकारले यसमा शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले जिकिर गरे । उनले भने, “जनप्रतिनिर्धि धब्बा लाग्ने हुनुहुँदैन । जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ । लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।”

Advertisement

Advertisement

Advertisement