एचआइडिसिएलले गर्यो १० प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद दिने प्रस्ताव

Advertisement

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गएका वर्षहरुमा नगद लाभांस दिएको भए पनि यस वर्ष भने बोनस सेयर दिएर पूँजी बृद्धि गर्न लागेको हो ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एक अर्ब रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि २१ लाख ५ हजार रुपियाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्षे कम्पनीले ८३ करोड ३ लाख रुपियाँँ नाफा गरेको थियो ।

यसका साथै सञ्चालक समितिले पूँजी बृद्धि गर्नका लगि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । कम्पनीलाई पूँजी बृद्धि गर्न नेपाल सरकारले यस अगाडि नै सैद्धान्तिक स्वीकृति सहित आवश्यक पूँजी उपलब्ध गराइसकेको छ ।

साधारणसभाबाट हकप्रदको निर्णय पारित हुने वित्तीकै कम्पनीले सर्वसाधारणको लागि पनि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । अहिले कम्पनीको जम्मा शेयर पूँजी १० अर्ब रुपियाँ रहेको छ । हकप्रद सेयर निष्काशनसँगै कम्पनीको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।

जलविद्युत कम्पनीहरुमा लगानी गर्ने भन्दै स्थापना भएपनि कम्पनीको प्रमुख आम्दानी भने बैंकमा जम्मा गरेको व्याज आम्दानी रहेको छ । गत वर्ष कम्पनीले बैंकमा जम्मा गरेको रकमबाट एक अर्ब १७ करोड रुपियाँ व्याज आम्दानी गरेको थियो ।

कम्पनीले गत वर्ष नेपाल सरकारसँग थप पूँजी आवश्यक परेको भन्दै पैसा माग गरेको थियो। कम्पनीको प्रस्तावलाई सरकारले स्वीकार गर्दै माग गरेको पूँजी विनियोजन गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement