विवेकशील साझाको विभाजनको कारणः सूर्यराज आचार्य र रञ्जु दर्शना के भन्छन् ?

Advertisement

काठमाडौं । आफूलाई वैकल्पिक राजनीतिको रुपमा प्रस्तुत गर्ने बताउँदै आएको विवेकशील साझा पार्टी मजबुत हुन नपाउँदै फुटेको छ । विगत लामो समयदेखि वैचारिक मतभेदका बीच चल्दै आएको यो पार्टी अन्ततः विभाजित हुन पुगेको हो ।

विवेकशीलको उज्जल थापा समूहले रविन्द्र मिश्र समूहसँग असन्तुष्टि जनाउँदै शुक्रबार आफ्नो पूरानै नाम विवेकशील दलको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

थापा समूहकी नेतृ रन्जु दर्शनाले मिश्र समूहसँगको वैचारिक विमतिका कारण आफूहरु छुट्टिनु परेको बताएकी छन् भने मिश्र समूहका सूर्यराज आचार्यले थापा समूहले छुट्टै दल दर्ता गर्न निवेदन दिएबाट आफूहरु आश्चर्यमा परेको बताएका छन् ।

विवेकशील साझाका कुल ३८ सदस्यमध्ये थापाले ४० प्रतिशतभन्दा बढि सदस्यसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आचार्यले पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आआफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुँदाहुँदै थापा समूह नयाँ दल दर्ता गर्न गर्नु आश्चर्यको विषय भएको बताए ।

उनले एक वक्तव्य जारी गर्दै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नता भएको स्वीकार गरेका छन्।

‘पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो’, पार्टी प्रवक्तासमेत रहेका उनले लेखेका छन्, ‘नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।’

उनले पार्टीको मत भिन्नतालाई सम्बोधन गर्न पुस ३० गते केन्द्रीय समिति बैठक बोलाएको सन्दर्भमा अगल पार्टी दर्ता हुनु दुःखद् भएको बताएका छन्।

‘हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ । तर थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।’

यता थापा समूहकी रञ्जु दर्शनाले नयाँ शैली र तरिकाबाट राजनीति गर्नुपर्छ भन्ने आफूहरुको रहेको र आफूहरुको विश्वास र भरोसा नै वैकल्पिक राजनीतिप्रति रहेको तर मिश्र समूह काँग्रेस र नेकपा जस्तै परम्परागत शैलीमा चल्न थालेपछि छुट्टै दल दर्ता गर्न निवेदन दिएको बताएकी छन् ।

पार्टी एकतापछिको १७ महिनामा सुरुको समय सुखद् रहे पनि बिस्तारै निराशामूलक बन्दै गएको भन्दै उनले खासगरी वैकल्पिक राजनीतिप्रति आफूहरु र मिश्र समूहको बुझाइ नै फरक देखिएकोले मिलेर जानसक्ने अवस्था नरहेको बताइन् । उनी भन्छिन्, ‘हामी चाहन्थ्यौँ राजनीति नयाँ र फरक तरिकाले गरिनुपर्छ । यसको लागि ‘नेम र फेम’ नै चाहिन्छ भन्ने पनि थिएन । बरु एक अभियानको खाँचो जरुरी हो । हामीले बारम्बार राजनीति गर्ने तरिका र सहभागितामूलक लोकतन्त्रको मुद्दा उठाइरह्यौँ । तर यसको सुनुवाई नेतृत्व तहबाट भएन ।’

Advertisement

Advertisement

Advertisement