गाई चोरी काटेर खाने ६ जना पक्राउ

Advertisement

ललितपुर । ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित माया अधिकारीको गोठमा बाँधेको गाई दाम्लो काटेर चोरी भएको छ । गाई चोरी काटेर खाएको आरोप लागेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनाले अभियोग स्वीकारेका छन् ।

तीनवर्षदेखि हरिसिद्धिमा गाई पाल्दै आएकी धादिङकी माया अधिकारीका तीनवटा गाई मध्ये एउटा गाई पुस १० गते हराएको थियो । पुनः मंगलबार राति बाँधिएको ठाउँबाट अर्को गाई हराएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन । अधिकारीकाअनुसार बाँधेको ठाउँमा दाम्लो काटेर गाई चोरी भएको हो।

सातदोबाटो वृत्तका प्रमुख गौतम मिश्रले भने ‘गाई २३ नम्बर वडाबाट हराएको थियो तर खोज्दै जाँदा २८ मा भेटियो।’ हरिसिद्धीस्थित होसना इँटा भट्टाको माटो निकाल्ने ठाउँमा पुरिएको अवस्थामा गाई भेटिएको थियो । मासु निकालिसकेको र बाँकी रहेका टाउको, पुच्छर, छाला, हड्डी, खुट्टालगायत पुरेको अवस्थामा भेटिएको हो ।

गाई पुरेको भेटिएपछि इँटाभट्टा रहेका सबैका टहरामा प्रहरीले छापा मार्दा एकजनाको टहरामा मासु भेटियो । ‘तर त्यो मासु गाईको हो या अरुकै पहिचानका लागि डीएन परिक्षण गर्न पशु कार्यालयमा पठाइएको छ’ प्रमुख मिश्रले भने ।

थप अनुसन्धानका लागि भट्टाका साहु तथा नाइकेसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले छापा मारेको थियो।

मुलुकी फौजदारी अपराध संहिताको परिच्छेद २७ को उपदफा २ मा कुनै गाई वा गोरु मर्न गएमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।

६ जना मिलेर गाई चोरी ल्याइ फरुवाले हानेर मारेको र राम्रो मासु निकालेर बाँकी खाल्डोमा पुरेको आरोपीले स्वकारेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये तीनजना ११र१२ वर्षका बालक र तीनजना ठूला छन् । बालकलाई मुद्दा नलाग्ने र अन्य तीन जनालाई चोरी र गौ हत्याको मुद्दा लाग्ने डीएसपी मिश्रले बताए ।

Advertisement

Advertisement

Advertisement