किबी खेतीतर्फ कृषक आकर्षित

Advertisement

म्याग्दी । व्यावसायिक किबी खेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ ।

केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८ सय १५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिए ।

छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि १ सय४ ५ सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट प्रतिबिरुवा रु ११० मा चार सय र निजी नर्सरीबाट रु ३५० का दरले ४ सय १५ गरी कुल ८ सय १५ बिरुवा खरीद गरिएको थियो ।

सङ्घीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले किबीखेती विस्तारका लागि रु तीन लाख बजेट विनियोजन गरेको थियो । लहरा प्रजातीको किबी समुद्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिन्छ । व्यावसायिक महत्व बुझ्नुका साथै आम्दानीको राम्रो सम्भावना भएकाले किबी खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ ।

बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किबी प्रतिकिलो चार सय रुपियाँका दरले बिक्री हुने गरेको छ । स्वादिलो, धेरै पौष्टिक तत्ब पाइने र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् ।

Advertisement

Advertisement