नेपालको चिनी संसारकै उत्कृष्ट छ । त्यसको एउटै उदाहरण बहुर्राष्ट्रिय कम्पनीहरू कोकाकोला, पेप्सीले थाइल्यान्डबाट चिनी आयात बन्द गरेर नेपाली चिनी प्रयोग गर्न थालेका छन् ।

उखु उत्पादन कम हुँदा चिनी अझै पनि आयात

Advertisement

–शशिकान्त अग्रवाल
अध्यक्ष, नेपाल चिनी उत्पादक संघ
नेपालमा कुल १५ वटा चिनी उद्योगमध्ये अहिले ११ वटा चालू छन् । बाँकी बन्द भए । बन्द हुने वा चल्ने कुरा उद्योगको व्यवस्थापन क्षमता, बजार रणनीति आदिमा भर पर्छ । कुनै उद्योग नाफामा चलेका छन् भने कतिपय घाटामा पनि छन् । मेरो लगानी रहेको चिनी उद्योग नाफामै छ । अहिले चिनी उद्योगहरू ५० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् । किनभने पर्याप्त मात्रामा उखु उत्पादन हुन सकेको छैन । सामान्य वृद्धि भएजस्तो देखिए पनि आवश्यकताअनुसार भने बढ्न सकेको छैन । अहिले नेपालको कुल मागको ६० प्रतिशत चिनी स्वदेशी उद्योगबाट पूर्ति हुँदै आएको छ । त्यसमध्ये २०–२५ प्रतिशत तस्करी भएर आउँछ भने बाँकी आयात हुने गर्छ । नेपालको समग्र चिनी उद्योगको उत्पादन क्षमता करिब पाँच लाख टन छ । तर, खपत दुई लाख ८० हजार टन मात्रै छ । उखुको अभावमा कम क्षमतामा उखु मिलहरू चल्दै आएका छन् । चिनी उद्योग उखु उत्पादन हुने समयमा करिब तीन महिना मुख्य रूपमा चल्ने हो । 

चिनी उद्योग भनेको शतप्रतिशत मौलिक उद्योग हो । यो उद्योगले आफैं बिजुली उत्पादन गर्छ । बढी भएको बिजुली सरकारको ग्रिडमा समेत दिएको छ । त्यो पनि सुक्खायाममा, जतिबेला जलविद्युत्को उत्पादन घट्छ । उखुबाट निस्किने ‘मोलासिस’ दाना उद्योगमा पनि प्रयोग हुन्छ । त्यसबाट रक्सी पनि उत्पादन हुन्छ । कागजका साथै प्रांगारिक मल पनि बन्छ । उखुको कुनै पनि कुरा खेर जाँदैन । न यसले वातावरण प्रदूषण नै गराउँछ । यी उद्योगले उल्लेख्य मात्रामा रोजगारी पनि दिन्छन् । उखु किसानलाई पनि अरू खेतीमा भन्दा बढी प्रतिफल दिन्छ । साथै, चिनी उद्योगले मिल भएको क्षेत्रको सर्वाङ्गीण विकास गर्छ । अहिले चिनी बढी उत्पादन हुने भारतका विभिन्न प्रान्त बिहार, यूपी (उत्तर प्रदेश), पन्जाब, महाराष्ट्र आदि हुन् । यी प्रान्तमा उखुमन्त्री नै पनि छन् । तर, नेपालमा भने सरकारले नै चिनी उद्योगको विकासलाई प्राथमिकतामा राखेको छैन । सरकारले सहयोग गरेर यो उद्योगको विकास गर्ने हो भने आयात प्रतिस्थापन त हुन्छ नै, अर्थतन्त्रमा पनि निकै ठूलो योगदान गर्छ । मूल्य अभिवृद्धि गर्छ । तस्करी रोक्न सकियो भने मात्रै पनि स्वदेशी उद्योगलाई ठूलो राहत हुन्छ । 

Advertisement

चिनी उद्योगको खास समस्या
उखुसहित नेपालको समग्र कृषि क्षेत्रमा खेतीकिसानी गर्ने मानिसको संख्या कम हुँदै गएको छ । कृषि पेसालाई नाफामूलक बनाउन नसक्नु नै यो स्थिति सिर्जना हुनु हो । जुन, देशकै लागि दुर्भाग्यको विषय बनेको छ । सोहीकारण कृषिजन्य उत्पादनको आयात पनि निकै बढेर गएको छ । जबसम्म सरकारले कृषिलाई नाफामूलक बनाउन सहयोग गर्दैन, तबसम्म कृषि पेसा गर्नेहरू पलायन हुने क्रम घट्दैन । सरकारले यो पेसालाई नाफामूलक बनाउन मेसिन अर्थात् प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ । किनकि, अब मानिस हातले काम गर्न नरुचाउने भइसके । समयमा पर्याप्त बीउबिजन र मल उपलब्ध हुनुपर्छ । त्यही कृषि उत्पादनभित्र उखु खेती पनि एक हो । समग्र कृषि क्षेत्रको शिथिलताको प्रभाव उखु खेती र उखु किसानमा पनि परेको हो । किसानलाई उखु उत्पादनमा लाग्न हामीले आग्रह गर्दा पनि उनीहरूले भविष्य देखिरहेका छैनन् । 

नेपालको तराई क्षेत्रको वातावरण भारतको यूपी र बिहारसँग मिल्दोजुल्दो छ । बिहार र यूपीमा एक किलो उखु पेल्दा ११ किलो रस आउँछ । नेपालमा पेल्दा ९ किलोका लागि संघर्ष गर्नुपर्छ । किनभने हामीले उखुका प्रजातिको गुणस्तर सुधार गर्न सकेनौं । भारतले अनुसन्धान गरेर उन्नत जातको उखुको बीउ उत्पादन गर्छ । तर, यहाँ हामीले कृषि विकास मन्त्रालयलाई पटक–पटक भन्दा पनि सुनुवाइ भएको छैन । बरु हामीले भारतकै अनुसन्धान संस्थाहरूसँग मिलेर नेपालमा पनि अनुसन्धान अघि बढाउन सकिन्छ कि त्यतातिर सोच्ने बेला भएको देख्छु । हुन त नेपालको जितपुरमा सरकारको ठूलो अनुसन्धान केन्द्र छ । तर, त्यो त्यत्तिकै छ । त्यसलाई सक्रिय बनाएर जेटीए तथा अन्य कृषि प्राविधिक र विज्ञ पनि तयार गर्न सकिन्छ , त्यसमा कुनै पहल हुन सकेको छैन । 

भारतका चिनी उद्योगलाई बिजुली उत्पादन गर्न, ‘मोलासिस’ बाट बन्ने ‘इथानोल’ बिक्री गर्न राज्यले नै सहयोग गर्छ । तर, यहाँ त्यस्तो कुनै सहयोग छैन । हामीले वर्षौंदेखि ‘इथानोल’ बिक्री गर्न संघर्ष गर्दै आएका छौं । ‘इथानोल’ पेट्रोलमा निश्चित प्रतिशत मिसाएर बिक्री गर्दै इन्जिनको आयु बढ्छ । वातावरण पनि सफा हुन्छ । तर, ‘नेपाल आयल निगमले जतिमा बिक्री गर्छ, त्योभन्दा पाँच–सात प्रतिशत कममा बिक्री गर्न देऊ’ भन्दा पनि सरकारले मानेको छैन । त्यो गर्न सके विदेशी मुद्राको बचत पनि हुन्थ्यो र राजस्व पनि बढ्थ्यो । हुँदाहुँदा पछिल्लो समयमा ‘मोलासिस’ नै बिक्री गर्न गाह्रो भएको छ । 

उखु खेतीमा एउटा राम्रो पक्ष ‘पी टू सी’ अवधारणा छ । ‘पी टू सी’ भनेको उत्पादक (किसान) ले सोझै उपभोक्ता (उखु मिल्स) लाई आफ्नो उत्पादन बिक्री गर्ने प्रयोग हो । कृषिका अधिकांश क्षेत्रमा बिचौलिया हुन्छन् । बिचौलियाको दुई–तीनवटासम्म तह हुन्छ । धेरै चरण पार गर्दै सामान उपभोक्तासम्म पुग्दा निकै महँगो भइसक्छ । त्यसकारण ‘पी टू सी’ को अवधारणालाई नेपालमा प्रवद्र्धन गर्न जरुरी छ । यसले बिचौलियातन्त्र निरुत्साहित हुँदै जान्छ । कतिपय क्षेत्रमा त अस्वाभाविक नाफा लिने प्रवृत्ति छ । यद्यपि, उपभोक्तामाथि शोषण र अन्याय गर्ने काम कसैले पनि गर्न हुन्न । उखु उद्योगले पनि गरेको छैन । 

किसान–उद्योगी भुक्तानी विवाद
किसानलाई चिनी उद्योगहरूले समयमा भुक्तानी नदिएको विषयलाई यथार्थ नबुझी अनावश्यक रूपमा हल्ला हुँदै आएको छ । करिव आठ–दश वर्षअघि पाकिस्तान र भारतबाट अत्यधिक मात्रामा चिनी आएर नेपालमा ‘डम्पिङ’ भयो । त्यतिबेला हामीले बारम्बार सरकारलाई ‘डम्पिङ’ नगर्नू, यसले नेपाली चिनी उद्योग र किसानलाई ठूलो मार गर्छ भन्यौं । तर, सरकारले सुन्दै सुनेन । दुई वर्षसम्म नेपाली चिनी बिकेन । जसले गर्दा किसानको बक्यौता रहन गएको हो । त्यो बक्यौता पनि अहिले धेरै हदसम्म समाधान भइसकेको छ । बक्यौता रहनुमा सरकार र भन्सार प्रशासनको कमजोरी हो, उद्योगीको होइन । विगत पाँच वर्षदेखि अधिकांश उद्योगले उखु किनेको पाँचदेखि सात दिनमा भुक्तानी हुन्छ । कारण, उखुको नै अभाव छ । उखु किन्न उद्योगहरूबीच नै प्रतिस्पर्धा छ । यस्तो अवस्थामा रकम भुक्तानी नहुने अवस्था नै छैन ।   

निर्यातको सम्भावना
अहिले नेपाली चिनीको निर्यात छैन । आन्तरिक माग नै पूर्ति नगरी निर्यातको कुरा हतार हुन्छ । यद्यपि त्यो सम्भावना नभएको भने होइन । नेपालबाट निर्यातका लागि ‘लजिस्टिक’ निकै गाह्रो छ । नेपालका चिनी उद्योगको सञ्चालन खर्च अत्यधिक छ । अरू देशको मूल्यसँग प्रतिस्पर्धा गर्न कम लागतमा चिनी उत्पादन गर्नुपर्ने हुन्छ, जुन यहाँ सहज छैन । त्यसका लागि हाम्रो कृषि प्रणालीदेखि उद्योग र निर्यात नीतिमा धेरै कुरा उद्योगमैत्री बनाउनुपर्ने हुन्छ । यी विभिन्न कारणले गर्दा तत्काललाई निर्यात गर्न देख्दिनँ । अहिले भएकै उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका बेला नयाँ उद्योग खुल्ने सम्भावना पनि उत्तिकै कम छ । नयाँ चिनी उद्योग खोल्न सहज पनि छैन । कारखानाको लागत धेरै र प्रतिफल न्यून छ । त्यसमाथि उखुको अभाव त छँदैछ । यो उद्योग भनेको निकै कठिन र जटिल उद्योग पनि हो । उखुमा कहिले रोग लाग्छ, कहिले बाढीले पुर्छ, कहिले सुक्खा भएर उत्पादनै हुँदैन । समस्या र चुनौती पार गर्दै नाफा निकाल्न साँच्चिकै गाह्रो छ । 

कस्तो छ गुणस्तर ? 
नेपालका चिनी उद्योग विदेशका उद्योगभन्दा कमजोर छैनन् । प्रायः सबै चिनी मिलको व्यवस्थापन क्षमता राम्रो छ । दक्ष जनशक्ति छन् । आधुनिक प्रविधिको प्रयोग गरेका छन् । आफूलाई स्तरोन्नति गर्दै लगेका छन् । केही जटिल खालको प्राविधिक काम गर्न हरेक चिनी उद्योगमा करिब पाँच जना विदेशी व्यक्ति हुन्छन् । बाँकी सबै नेपालीले गर्छन् । उनीहरू पनि दक्ष भइसके । अहिले विदेशीले गर्ने काम पछि नेपालीले गर्ने दिन आउँछ । 

हरेक वर्ष हामीले उद्योगमा चार–पाँच करोड खर्च गरेर भारतका उद्योगमा जे–जस्तो परिवर्तन हुन्छ, सोअनुसारको प्रविधि ‘अपग्रेड’ गर्ने गरेका छौं । गुणस्तरको कुरामा नेपालको चिनी संसारकै उत्कृष्ट छ । एउटै उदाहरणले त्यसको पुष्टि गर्छ । लामो समयसम्म बहुराष्ट्रिय कम्पनीहरू कोकाकोला र पेप्सीले नेपाली चिनी किन्न आनाकानी गर्दै आएका थिए । उनीहरूले अमेरिकी मापदण्डको चिनी चाहिन्छ भन्दै अडान राख्दै आएका थिए । त्यहीकारण थाइल्यान्डबाट आयात गर्थे । विगतबाट आयात गरेको चिनीमा पनि गुणस्तरको समस्या भएपछि उनीहरूले नेपालको चिनीको गुणस्तर जाँचे । उत्कृष्ट देखेपछि विगत पाँच वर्षदेखि कोकाकोला र पेप्सीले एभरेस्ट सुगर मिल्स र हिमालय सुगर मिल्सबाट चिनी किन्दै आएका छन् । म फेरि पनि दोहो¥याउन चाहन्छु– नेपालको चिनीमा गुणस्तरको कुनै समस्या छैन ।

Advertisement

Advertisement