विद्युतीय सवारी साधनको आयात बढ्दै, तर चार्जिङ स्टेशन र नियमित विद्युत आपूर्ति मुख्य समस्या

लुम्बिनीमा १४ करोड लागतको चार्जिङ स्टेशन बन्दै

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आयात पछिल्लो समय बढ्न खोजेपनि यसका लागि पूर्वाधार तयार नहुँदा अपेक्षाअनुसार बढ्न सकेको छैन । सरकारले विद्युतीय सवारी साधनको आयातमा कर सहुलियत दिएकाले यस्ता सवारी साधनको आयात बढ्न खोजे पनि लोडसेडिङको समस्या पूर्णरुपमा समाधान भइनसक्दा र ठाउँ ठाउँमा चार्जिङ स्टेशनहरु नबन्दा मागअनुसार आयात भने हुन सकेको छैन् ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष चार पाङ्ग्रे विद्युती सवारी साधनको आयातमा निकै वृद्धि भएको छ । गएको आर्थिक बर्षमा २६ करोड ६७ लाख रुपियाँ मुल्य बराबरका २५० थान चार पाङ्ग्रे सवारी साधन भित्रिएको थियो भने चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नै २८ करोड ३४ लाख रुपियाँ बराबरका एक हजार ४१ वटा यस्ता साधन आयात भएको छ ।

सबैभन्दा धेरै चीनबाट १२ करोड २६ लाख रुपियाँ बराबरको ७४२ थान आयात भएको छ भने भारतबाट १२ करोड दुई लाख रुपियाँ बराबरको २८७ थान सवारी साधन आयात भएको तथ्याङकबाट देखिन्छ । त्यसैगरी कोरियाबाट तीन करोड ३४ लाख रुपियाँ बराबरको नौ वटा, फ्रान्सबाट ६८ लाख रुपियाँ बराबरको दुई वटा र थाइल्याण्डबाट पाँच लाखको एउटा चार पाँग्रे सवारी साधन आयात भएको छ ।

गत वर्ष दुई पाँग्रे र तीन पाँग्रेसहित कुल विधुतीय सवारी साधन पाँच हजार ४६५ थान आयात भएको छ । यस वर्ष पाँच महिनाको अन्तरालमा दुई हजार ७७० थान यस्ता साधन आयात भइसकेको भन्सार विभागका तथ्यांक अधिकृत राम वाग्लेले जानकारी दिए ।

विभागका अनुसार गत आर्थिक वर्षमा कुल चार हजार ९८९ वटा तीन पाँग्रे सवारी साधन आयात भएकोमा चीनबाट मात्रै ३९ करोड ५७ लाख रुपियाँ बराबरका तीन हजार ७६६ वटा आएको छ । पछिल्लो समयमा इरिक्साको आयात बढेकाले तीन पाँग्रेको संख्या बढि देखिएको हो ।

त्यसैगरी, भारतबाट आठ करोड २५ लाख बराबरको एक हजार २३३ थान तीन पाँग्रे सवारी आयात भएको थियो । त्यस्तै, दुई पाँग्रेतर्फ गत आर्थिक बर्षमा एक करोड ८० लाख रुपियाँ बराबरका ३४७ जटा आयात भएको थियो । त्यसमा चीनबाट ३३३ र भारतबाट चार लाख १६ हजार रुपियाँ बराबरका चार वटा मात्रै दुई पाँग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ ।

भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले सरकारले विद्युतीय सवारी साधनको विकास गर्न अझै सहयोग पुर्याउनु पर्ने बताउँछन् । उनले विभिन्न ठाउँमा चार्जिङ प्वाइन्टको व्यवस्था गर्नुपर्ने भन्दै पूर्णरुपमा लोडसेडिङ नहटिसकेको अवस्था र चार्जिङ स्टेशनहरु नबनिसकेकाले मानिसहरुले विद्युतीय सवारी साधन किन्न चाहना हुँदाहुँदै पनि किन्न नसकेको बताए ।

घिमिरे भन्छन्– नेपाल जलस्रोतमा धनी भएको कारणले गर्दा पनि विद्युत उत्पादन वृद्धि गर्न सकिन्छ । मर्मत गर्न पनि पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्यूतीय सवारी साधन सजिलो भएकाले यस्ता सवारी साधन बढि उपयोगी छ । तर पनि तर पनि पूर्वाधार तयार नभइसक्दा मानिसहरुले किन्ने आँट गर्न सकेको छैन् ।

विद्युतीय सवारी साधनका सवल पक्ष

  • पेट्रोलियम पदार्थको ठूलो आयात कम भई व्यापार घाटा कम गर्न सहयोग पुग्छ
  • स्वदेशमै उत्पादित इन्धन प्रयोग हुँदा मुलुकलाई आत्मनिर्भर बनाउन, समग्र मुलुकको आर्थिक अवस्था र नागरिकको आयस्तर बढाउन सहयोग पुग्छ
  • बाताबरण सफा भई नागरिकको स्वास्थ्यमा सुधार ल्याउन, प्रदुषण कम भएसँगै पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्छ
  • विद्युतीय सवारी साधनमा मर्मत खर्च कम हुने भएकाले उपभोक्तालाई समय र पैसाको बचत हुन्छ
  • पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा झण्डै साढे दुईसय प्रतिशत कर तिर्दै आएका उपभोक्ताले विद्युतीय सवारी साधनमा भन्सार महशुल १० र भ्याट १३ प्रतिशत मात्र तिरे पुग्छ

विद्युतीय सवारी साधनका दुर्बल पक्ष

  • पेट्रोलियम पदार्थका सवारी साधनभन्दा विद्युतीय सवारी साधनको मूल्य (करहरु नजोर्दा) महंगो पर्छ
  • चार्जिङ स्टेशनहरु स्थापना हुन अझै बाँकी
  • लोडसेडिङको पूणरुपमा समाधान अझै नभइसकेको अवस्था
  • पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको गति कम