नेपालले जित्यो यूएई विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

Advertisement

काठमाडौं । नेपालले सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ४ विकेटको विजय हासिल गर्दे तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ ।

आज भएको तेस्रोदिनको खेलमा कप्तान पारस खडकाले ले १ सय १५ रन बनाएपछि नेपालले यूएईले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । फितलो ब्याटिङका कारण पहिलो खेल ३ विकेट गुमाए पनि नेपालले बाँकी दुई खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । दोस्रो खेल १ सय ४५ रनले जितेको नेपालले आजको निर्णायक खेलमा ४ विकेटको विजय हासिल गरेको हो ।

यसअघि नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले १र१ को बराबरी खेलेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का हान्दै १ सय १५ रन बनाए । पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै शतक पूरा गरेका हुन् । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि २ शतक पूरा गरिसकेका छन् ।

ओपनर विनोद भन्डारी ९ रन बनाएर पवेलियन फर्किएपछि क्रिजमा आएका पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि १७ रनको साझेदारी गरेका पारसले राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्दीप जोरासँग चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । त्यसपछि पारसले रोहितकुमार पौडेलसँग पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे ।

कादीर अहमदको बलमा एलबिडब्लू आउट हुनुअघि पारसले आरिफ शेखसँग छैटौं विकटका लागि ३२ रनको साझेदारी गरेका थिए । १९–१ को अवस्थामा क्रिजमा गएका पारस पवेलियन फर्किदा नेपाल २१५–६ को अवस्थामा थियो ।

त्यसपछि आरिफ र सोमपाल कामीले ३९ रनको साझेदारी गर्दै नेपाललाई ४ विकेटको जित दिलाए । अरिफ २१ र सोमपाल २६ रनमा अविजित रहे । पारसबाहेक नेपालका ज्ञानेन्द्र मल्लले ३१, सन्दीप जोरा १९, रोहितकुमारले १६ रन बनाए ।

Advertisement

Advertisement