वित्तीय विश्लेषकहरुको संस्था स्थापना

Advertisement

काठमाडौं । नेपालको वित्तिय विश्लेषकहरुको संस्थाको रुपमा एसोसियशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ । वित्तिय विश्लेषणमार्फत सामाजिक हितको लागि लगानी र पुँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) संलग्न सो संस्था नेपालमा स्थापना भएको हो ।

सीएफए पूरा गरेका एनालिष्टहरु नेपालमा १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । संस्थाले नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर सुझाव दिनेछ । संस्थाको उदघाटन नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले शनिबार गरे ।

गर्भनर नेपालले देशमा राजनीतिक स्थिरता आएसँगै लगानीको वाताबरण बन्दै गएको र उचित लगानीका लागि वितीय विश्लेषणको महत्व रहेको बताए । देश आर्थिक रुपान्तरणको बाटोमा रहेको बताउँदै उनले सरकारले नेपालमा लगानीका लागि उचित वातावरण बन्दै गएको बताए ।

नेपालले भने, ‘वित्तीय साक्षरता र वित्तीय पहुँच बढ्दै गएको छ । सरकारले एक स्थानीय तह कम्तिमा एक बैंकको नीति लिएकाले यसले बिजनेस बढाउन मद्दत गर्छ ।’ भुक्तानी प्रणाली आधुनिकीकरण भएको छ । लगानीको वाताबरण बन्दै गएको छ ।’ उनले वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तिय अवस्था सुधार हुँदै जाने बताए ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको नियामकको हिसाबले नेपाल धितोपत्र बोर्ड लगानीको सुरक्षा गर्न सधै प्रयासरत रहेको बताए । उनले लगानीकर्तालाई आत्मविश्वासी बनाउन बोर्डले चाहेको बताए ।

सिएफए एसिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पुँजी बजारको नैतिक बिकासमा सहयोग पुर्याउने बताए । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महत्वपुर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

शुक्रबार नै सीएफएहरुको सम्मेलन पनि भएको छ । सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनिधिसहित तीन सय जनाको सहभागिता थियो । एशोसियसनको अध्यक्षमा डा. मनोज शाही छन् ।

Advertisement

Advertisement

Advertisement