होटल संघले दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा शोक सभा गर्यो

Advertisement

काठमाडौं । होटल संघ नेपालले आज बिहान केन्द्रीय कार्यालय काठमाडौंमा शोक सभा आयोजना गरेको छ । होटलले शोकसभामा बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी, यति एयरलाइन्स समूहका पर्यटन व्यवसायका अध्यक्ष आङ छिरिङ शेर्पा, भ्रमण दलमा रहेका चार जना राष्ट्रसेवकहरु र हेलिकप्टर चालकको अकल्पनीय निधनप्रति गहिरो शोक प्रकट गर्दै मृत आत्माको चिरशान्तिको लागि श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना प्रकट गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वार्धमा सो अभियानका प्रवर्तक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हवाई दुर्घटनाबाट भएको निधनले देशमा वारम्बार भइरहेको हवाई दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि सम्वद्ध सबै पक्ष अत्यन्तै गम्भीर भएर नेपाली आकासलाई सुरक्षित बनाउन आ–आफ्नो उत्तरदायित्व गहनरुपमा वहन गर्न हालको शोकलाई शक्तिमा रुपान्तरण गर्नु अपरिहार्य रहेकोमा होटल संघ नेपालले जोड दिएको छ ।

सभामा राष्ट्रले सुम्पेको पदीय दायित्व निर्वाह गर्ने क्रममा दिवंगत भएका सबै सातै जनाले मातृभूमिलाई पुर्याएको सेवाको उच्च सम्मान गर्दै मृत आत्माको सम्झनामा पुष्पहार अर्पण एवं दीप प्रज्वलन गरी एक मिनेट मौन धारण गरिएको थियो ।

आज राष्ट्रिय शोक मनाउन नेपाल सरकारबाट घोषणा भएको सार्वजनिक बिदा सदस्य होटलहरुले पनि सञ्चालन नियमित राखी एक दिन बिदा थप्ने निर्णय पनि संघको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement