हेलिकप्टर दुर्घटनाको कारण ‘सिफिट’ हुनसक्ने अनुमान

helicopter-clouds

काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाको कारण के होला रु यसबारे सबैको चासो छ । तर यसको कारण पत्ता लगाउन भने चुनौती देखिन्छ । विश्वभर वायुयान दुर्घटनाको तथ्यांक अध्ययन गर्दा साना विमान तथा हेलिकप्टर दुर्घटना दर उच्च छ ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार यसको कारण भनेको नियमित सेवामा सञ्चालन हुने व्यावसायिक वायुयानका लागि निर्धारित उडान सुरक्षा मापदण्डको तुलनामा साना विमान तथा हेलिकप्टरका लागि निर्धारित त्यस्तो मापदण्ड फरक हुनु हो ।

ती अधिकारीका अनुसार नियमित सेवामा सञ्चालन हुने १९ यात्रु क्षमताभन्दा बढीका वायुयान अपेक्षाकृत ठूला विमानस्थलमा सञ्चालन हुने र यान्त्रिक विधिबमोजिम उड्छन् । त्यस्ता वायुयानको दुर्घटना दर तुलनात्मक रूपमा न्यून हुन्छ । तर पहाडी भूभागमा भीएफआर (दृष्टिगोचर उडान नियम) बमोजिम वायुयान चालकले उडाउने साना विमान तथा हेलिकप्टर दुर्घटना दर धेरै हुने गरेको तथ्यांक देखिन्छ ।

बुधबार डाइनेस्टी एयरको बीथ्रीई हेलिकप्टर दुर्घटना कसरी भयो भन्नेबारे जवाफ आइसकेको छैन । तर अधिकारीहरूले यसको कारण सिफिट भनेका छन् । सिफिट भनेको पाइलटको कमान्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नु हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसका कारण दुर्घटना हुन जान्छ । ‘पछिल्ला वर्ष अधिकांश हेलिकप्टर सिफिटका कारण दुर्घटनामा परेका देखिन्छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो प्रारम्भिक अनुमान सिफिट रहेको छ ।’

प्राधिकरणले सन् २००८ देखि २०१७ सम्म नेपालमा भएका ३० वटा हवाई दुर्घटनाको अध्ययन गरेको थियो । जसमा सबैभन्दा धेरै दुर्घटनाका कारण सिफिट रहेको छ । यसको दर ३७ प्रतिशत छ । त्यसपछि विमानको कन्ट्रोल गुम्नु (एलओसी) ३३ प्रतिशत, दुई वा बढी विमान आकाशमा ठोक्किनु (म्याक) शून्य, धावनमार्गबाहिर चिप्लिनु २९ प्रतिशत र वन्यजन्तुसँग ठोक्किने आदि कारण छन् ।

यी कारणमध्ये सबैभन्दा धेरै सिफिट रहेको देखिन्छ । ‘यसबाट कसरी जोगिने ?’ सबैभन्दा पहिले पाइलटले गन्तव्यको मौसमबारे जानकारी राख्नुपर्छ । उडानमा मौसमसँगको सम्बन्ध नङ–मासुजस्तै मानिन्छ । उडान अगाडि भौतिक र प्राविधिक तयारी गरेजस्तै मौसमका विविध पक्षबारे पनि उत्तिकै जानकारी अपरेटरलाई हुनुपर्छ ।

‘हेलिकप्टरलाई उपकरण सहायतामा उडान भर्न अनुमति छैन । अर्थात् कि त आकाश कि जमिन देखेर यात्रा गर्नुपर्छ । बुधबार दुर्घटनामा परेको हेलिकप्टर २३ हजार फिटसम्म उड्न सक्ने क्षमताको हो । नेपालमा १२ हजार फिट हाराहारी उचाइमा हेलिकप्टर उड्छन् । यिनले कि त बादलमाथि आकाश हेरेर उड्नुपर्छ या बादलको तहभन्दा मुनिबाट जमिन हेरेर उड्नुपर्छ । ‘मौसम बिग्रिएको छ र अघि बढ्न मुस्किल हुँदा नजिकै खोला, चौर वा डाँडामा अवतरण गरेर कुर्नु नै सिफिटबाट जोगिने उपाय हो,’ ती अधिकारी भन्छन् ।

डाइनेस्टीका क्याप्टेन प्रभाकर केसीले पाथीभराबाट फर्किनुअघि त्यहाँको मौसमबारे सुकेटार विमानस्थलको टावरलाई जानकारी गराएका थिए । उनले ‘हिमपात भइरहेकाले उड्न नसकेको’ भनेका थिए । एयर डाइनेस्टीका अनुसार त्यस दिन दोस्रो प्रयासमा क्याप्टेनले टेकअफ गरेको देखिन्छ । ‘पाइलटले प्रेसर लिएको जस्तो अनुमान गरेका छौं,’ एक हेलिकप्टर व्यवसायीले भने, ‘त्यही दिन बेलुकी आङछिरिङ शेर्पा फ्रान्सका लागि उडदै हुनुहुन्थ्यो भने भोलिपल्ट मन्त्री अधिकारी जर्मन जाने कार्यत्रम थियो । उहाँहरूको हतारोले सायद पाइलटलाई दबाब परेको हुन सक्छ ।’

विमानस्थलमा मन्त्रीसहितको भीभीआईपी उडानलाई बिदाइ गरेका एयरलाइन्सकै एक सञ्चालकका अनुसार पाथीभरा जाने कार्यक्रम हेलिप्याडमा बनेको थियो । उनले योजना कसको हो भनेनन् । समय मिले चुहानडाँडाबाट ७ मिनेटको हवाई दूरीमा पर्ने पाथीभरासम्म पुगेर काठमाडौं फर्किने योजना बनेको बताए ।

‘सबै कुराको विश्लेषण गर्दा त्यो उडान समयको प्रेसरमा थियो,’ उनले भने, ‘मन्त्रीले भाषणमै चाँडै फर्किनुपर्ने भएको भनेका छन्, त्यसैले यो सबै चाप पाइलटमा परेको हुन सक्छ,’ उनले अनुमान लगाउँदै भने । शुक्रबार पशुपति आर्यघाट र खुलामञ्चमा श्रद्धाञ्जली दिन पुगेका केही पाइलटले हिमपातका कारण हेलिकप्टर दुर्घटना भनेका छन् । उनीहरूको तर्क छ, हिमपातका कारण हेलिकप्टरको ब्लेडमा हिउँ जम्दा उसको ‘पर्फरमेन्स’मा असर परेको हुनुपर्छ । ‘यदि रोटर (ब्लेड)मा आइसिङ भएको हो भने इन्जिन क्षमतामा असर परेको हुन सक्छ,’ एक पाइलटले भने, ‘केही अनुसन्धानमा यस्तो पनि देखिन्छ ।’

हेलिकप्टरका एक प्रशिक्षक पाइलटले ब्लेडमा आइस जमेर दुर्घटना भएको कारणमा आफू असहमत रहेको जनाउँदै बरु आइसका कारण इन्जिनमा असर पर्ने बताए । ‘भारी हिमपात भएको अवस्थामा इन्जिनमा जानुपर्ने हावाको अनुपात नमिल्दा असर परेको हुन सक्छ,’ ती वरिष्ठ पाइलटले भने । एकथरीले यो उडानमा अनुभवी वरिष्ठ पाइलट, विदेशी वा प्रशिक्षक पाइलटको कमान्ड भएको भए सायद दुर्घटना टर्न सक्ने भनेका छन् ।

‘आफ्नै कम्पनीको मालिक अनि मन्त्री सवार उडानमा तन्नेरी क्याप्टेन केसीले दबाब महसुस गरेको देखिन्छ,’ एक अर्का पाइलटले भने, ‘त्यस्तो मौसममा सायद अनुभवी पाइलट भएको भए परिस्थिति अर्को हुन सक्थ्यो कि ? क्याप्टेनले बिग्रेको परिस्थितिमा नाइ भन्नुपर्ने, तर उनले नो भन्न सकेनन् । किनकि त्यस दिनको मौसम बदलिँदो थियो ।’

उनीहरूले क्षमताभन्दा बढी तौल भएर दुर्घटना भएको भन्ने कारणचाहिँ आधारहीन भएको भनेका छन् । ६ यात्रु क्षमता भएको यो हेलिकप्टरको अधिकतम टेकअफ भार २२ सय ५० केजी हो । यो २२ सय ४५ केजीमा उडेको थियो भने ४ सय ५ केजी इन्धन थियो । ‘पाथीभरासम्म पुग्दा आधा इन्धन बलिसकेकाले हेलिकप्टर अझ हलुका भएको थियो, तौलको कारण आधारहीन कुरा हो,’ ती पाइलटले भने ।

कान्तिपुर दैनिकबाट ।